NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताए ।

उपराष्ट्रपति पुनले “सूचनाको उज्यालोबाट मात्रै सुशासन, असलशासन वा हामीले चाहेको जस्तो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न सकिन्छ ।” भन्ने कुरा कार्यक्रममार्फत उल्लेख गरे । सुशासन, लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको ज्यादै महत्व रहेको उल्लेख गर्दै उनले जहाँ नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउँछन्, त्यो राज्यमा सुशासन र असल शासन कायम हुने बताए ।

उपराष्ट्रपति पुनले संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको बताउँदै जुन राष्ट्रले जनतालाई सूचना दिएको हुन्छ, त्यो राष्ट्रमा सुशासन हुन्छ भन्ने उल्लेख गरे । उनले लोकतन्त्रमा आमजनता सूचनाबाट सूसुचित हुनुपर्ने बताउँदै राज्यले सार्वजनिक महत्वबारे सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड दिए । “लोकतन्त्रमा जनताभन्दा शक्तिशाली अरु कोही हुन सक्दैन कार्यक्रममा उनले दाबी गरेका छन् ।

सूचनाको हकको सवालमा पछिल्ला वर्षमा केही आशा लाग्दा उपलब्धी भएको बताउँदै उनले विशेषगरी पत्रकारले सूचनाको हकको प्रयोग गरेर लुकाएर राखिएका सूचना बाहिर ल्याई जनतालाई सुसूचित बनाएको बताए। आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आर्थिक वर्ष  ०७७/ ०७८ मा सम्पादीत प्रमुख कार्यमध्ये आयोगमा दर्ता भएका सबै ७५३ पुनरावेदन उपर कारवाही गरेको जनाए।

सो अवसरमा आयोगले सूचना अभियान्ता उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझि, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको छ । त्यसैगरी विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी (सूचना अधिकारी)  निर्मला लामा, दुर्गाप्रासद शर्मा, राजु आचार्य, सत्य नारायण हुजदार र गोकर्णराज वाग्लेलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९’ प्रदान गदै आयोगले कर्मचारी उपसचिव विश्ववन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायवसुब्बा हेमन्त रिज्याललाई पनि आयोगले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही  ३५ हजार रूपैयाँ रहेको छ ।