NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

उम्लिएको जस्तै तातो पानी बग्ने पेरुको अनौठो नदी

ब्राजिलिया । अमेजन जंगल रहस्यले भरिएको छ । अर्बौं एकड क्षेत्रफलमा फैलिएको यस वनलाई विश्वको सबैभन्दा ठूलो वनमा गनिन्छ । अमेजन ब्राजिल, पेरूसहित दक्षिण अमेरिकाका ९ वटा देशमा फैलिएको छ । यस जंगलमा डरलाग्दा र विचित्रका जीवजन्तु र अन्य चीजहरू रहेको बताइन्छ । यो घना जंगलको भित्री भागमा पुग्न अत्यन्तै कठिन छ ।

यस जंगलभित्र यस्तै अनेक अनौठा चीजमध्ये एउटा अत्यधिक तातो पानी बग्ने नदी पनि छ । यदि कुनै प्राणी झुक्किएर पनि नदीमा खस्यो भने बाँच्ने सम्भावना हुँदैन । पेरुमा पर्ने यो रहस्यमयी नदीलाई भूवैज्ञानिक आन्द्रे रुजोले सन् २०११ मा पत्ता लगाएका थिए । आन्द्रे रुजोले बताए अनुसार मायान्तुयाकु नामको यो नदी करिब ४ माइल लामो छ ।

रुजोका अनुसार यो नदीको उमालेको पानीमा मानिस वा जनावर खस्यो भने तिनी एकैछिनमा मर्न सक्छन् । त्यहाँ पुग्दा उनले आफैंले धेरै साना जीवहरू पानीमा खसेर मरेको देखेका थिए । नदीको पानीको तापक्रम ८० डिग्री सेल्सियसको हाराहारीमा रहेको बताइएको छ । नदीमा तातो पानीका कारण बाफ उडिरहेको हुन्छ ।

रुजोले यस नदीको बारेमा ‘द बाइलिङ रिभरः एडभेन्चर एन्ड डिस्कभरी इन द अमेजन’ नामक पुस्तक पनि लेखेका छन् । यस पुस्तकमा उनले नदीको रहस्यको बारेमा बताएका छन् । रुजो भन्छन्, ‘नदी प्रकृतिको चमत्कार हो, यसको पानी रहस्यमय ढंगले उम्लिरहेको छ ।’ वैज्ञानिकहरू यसबारे अनुसन्धान गरिरहेका छन् तर अहिलेसम्म यसको पानी किन तातो छ भन्ने थाहा हुन सकेको छैन ।

वरिपरि कुनै पनि सक्रिय ज्वालामुखी वा जियोथर्मल भेन्ट्सनजिक नभए पनि नदीले आफ्नो उच्च तापक्रम कायम राखेको छ ।