NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

इराकमा धुलोसहितको आँधीका कारण हजारौं बिरामी

बगदाद । इराकका धेरै ठाउँमा धुलोसहितको आँधी आउँदा हजारौं मानिस बिरामी भएर अस्पताल भर्ना भएका छन् । बालुवाको आँधीका कारण एक जनाको मृत्यु भएको र ५ हजारभन्दा बढीमा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पतालमा उपचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धुलोका कारण नजिकैको दूरीसम्म पनि राम्ररी नदेखिने गरी आकाश नै सुन्तला रङको भएको थियो । धुलो उडेपछि बग्दाद र नफाजका विमानस्थलका उडान पनि बन्द भएका छन् ।

बिहीबार इराकमा एक महिनामा सातौं आँधी आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल बद्रले जनाएका छन् । दमलगायत श्वासप्रश्वास समस्या भएका मानिस र मुटु रोग भएका वृद्धहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

बद्रले भने, ‘मध्य र सामान्य अवस्था भएका व्यक्तिहरुलाई डिस्चार्ज गरिसकिएको छ ।’ हालैका वर्षहरूमा इराकमा धूलोको आँधीबेहरी नाटकीय रूपमा बढेको छ ।

जलवायु परिवर्तनका कारण औसत तापक्रममा वृद्धि, वर्षा कम हुनु, माटोको क्षय र लामो खडेरीले अवस्था झन् खराब बनाएको छ ।

धुलोका सूक्ष्म कणहरूले स्वास्थ्य समस्याहरू जस्तै दम र हृदय रोगहरू निम्त्याउन सक्छ, साथै ब्याक्टेरिया र भाइरसले कीटनाशक र अन्य विषाक्त पदार्थहरू फैलाउन सक्छ । बग्दाद र अल-अनबारको विशाल पश्चिमी क्षेत्रसहित इराकका ६ वटा प्रान्तमा धुलोको आँधि आएको थियो ।

सहरमा हरित क्षेत्र नहुनाले पनि धेरै धुलाे उड्छ । संयुक्त राष्ट्र संघीय पर्यावरण कार्यक्रमले सन् २०२६ सम्ममा प्रत्येक वर्ष तीन सयभन्दा धेरै धुलोको आँधी आउन सक्ने पूर्वानुमान गरेको छ ।