NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेप्से १७.९५ अंकले बढ्याे, १ अर्ब ३२ करोडकाे काराेबार 

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक काराेबारकाे अन्तमा बढेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

आइतबार कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से परिसूचक, अन्तिम समयमा १७.९५ अंक बढेर २२५६.५७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८० अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक बढेर बन्द भएको छ।

यस दिन २३३ स्टकको २७ हजार २२९ पटकको कारोबारमा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको ३३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३‍.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यता बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक भने यस दिन घटेका छन्।

यस दिन जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन १० प्रतिशत अर्थात १५२ रुपैयाँ बढेर १ हजार ६७२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।