गठबन्धनको डर, ज्योतिषीको भर

काठमाडौं । किसानका लागि असार १५ विशिष्ट दिन हो, तर एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ प्रति कौतूहल बढाइदिएका छन् । ओलीले दाबी गरेजस्तै असार १७ वा आसपासमा नेपालको राजनीतिमा ‘उलटफेर’ हुन्छ कि हुँदैन भन्ने प्रस्ट छैन, तर उनको भविष्यवाणीले राजनीतिक वृत्तमा तरंग भने ल्याएको छ ।
शनिबार विराटगरमा आयोजित चुनाव सभालाई सम्बोधन गरेयता ओलीले यो प्रसंग पटक–पटक दोहोर्याएका छन् । विराटगरमा उनको भनाइ थियो, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा असाध्यै विश्वास गर्नुहुन्छ । त्यसैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ? मैले दिन नै तोकिदिएको छु– असार १७, कस्ता कस्ता ग्रह, दशा, नक्षत्रहरू कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् भनेर मैले भनेको छु ।’
आइतबार एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पनि यही विषयमा प्रश्न र प्रतिप्रश्न चलिरहे । पत्रकारहरूको प्रश्न थियो– असार १७ मा के हुन्छ ? उस्तै आशयका प्रश्नहरूमा ओलीको एकमुष्ट जवाफ थियो, ‘मैले ज्योतिषीको कुरा भनेको हुँ । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिलेचाहिँ दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदै छ भन्छन् । यो8 ज्योतिषीहरूको कुरा हो । होइन भने ठ्याक्कै–ठ्याक्कै मिलाउने प्रधानमन्त्रीज्यूका आफ्नै ज्योतिषी छन्, बोलाएर सोध्नुभए हुन्छ । मैले त्यही भनेको हुँ ।’
विषयलाई अझ प्रस्ट पार्न भन्दै ओलीलाई प्रतिप्रश्न पनि सोधिएको थियो, तर जवाफ थियो, ‘ज्योतिषीलाई सोध्नुस् न स्पष्ट पार्छन्, ज्योतिषीहरूले भनिराखेका छन् ।’
त्यसपछि तेस्रो प्रश्न उठ्यो– ‘पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेताले दिनै तोकेर भनेपछि केही न केही त होला ?’ ओलीले फेरि भने, ‘ज्योतिषीहरूले भनिराखेका छन् ।’
ओलीले गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो वैशाख ३० मा नै रहेको बताएका छन् । चुनावमा तालमेल प्रभावकारी नहुने र हार भएपछि गठबन्धनभित्र अविश्वास पैदा हुने उनको दाबी छ । ‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ । कस्तो दिन छानेर राख्नुभएछ । वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या । ढाडै भाँचिने गरी,’ ओलीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया