वैशाख ३० गते मतदाताले थाहा पाउनै पर्ने विषयहरू
काठमाडौँ । वैशाख ३० गते ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । त्यसका लागि आज मध्येरातबाट शून्य समय शुरू हुँदैछ ।
स्थानीय तह स्थानीय सरकार हो । स्थानीय तह स्वायत्त छन् । उसको आफ्नै कार्यापालिका, न्यायापालिका र व्यवस्थापिका हुन्छ । सबै प्रतिनिधि प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने भएकाले बहुमत वा अल्पमतका आधारमा प्रमुख र उपप्रमुखको जिम्मेवारी परिवर्तन गर्न सकिदैन । हरेक प्रतिनिधिले संविधानअनुसार गम्भिर प्रकारको अपराध नगर्दासम्म निर्वाचित भएपछि पुरा कार्यकाल स्थानीय तहको नेतृत्व गर्नेछन् ।
स्थानीय तहलाई स्वायत्त अधिकार दिएको हुन्छ । यी अधिकार कार्यान्वयनमा स्थानीय तह स्वायत्त रहन्छन् । केन्द्र वा प्रदेश सरकारले कुनै पनि काममा प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन् । स्थानीय तहले आफैँ नीति तथा कार्यक्रम बनाउँछ, आफैँ कानून बनाउँछ । आफैँ बजेट बनाउँछ र कार्यान्वयन गर्छ । त्यसैले यसलाई स्थानीय सरकार भनिएको हो । तर केन्द्रको कानूनसँग बाझिने गरी कुनै पनि कानून, नीति तथा कार्यक्रम र बजेट बनाउन पाउँदैन ।
कति प्रतिनिधि निर्वाचित हुँदैछन् ?
यो निर्वाचनबाट देशभर ३५ हजार २ सय २१ जना जनप्रतिनिधी निर्वाचित हुँदैछन् । हरेक स्थानीय तहमा एक जना प्रमुख(मेयर) वा अध्यक्ष, एक जना उपप्रमुख(उपमेयर) वा उपाध्यक्ष निर्वाचित हुन्छन् । स्थानीय तहमा कम्तिमा ५ र बढिमा ३२ वटा वडा छन् । प्रत्येक वडाबाट एक जना वडाध्यक्ष र अन्य चार जना सदस्यहरु निर्वाचित हुनेछन् ।
वडाबाट निर्वाचित ४ सदस्यहरुमध्ये दुई वटा पद खुल्लातर्फ, एक महिला र अर्को एक पद दलित महिला सदस्यका लागि हुनेछ । स्थानीय तहमा महिला जनप्रतिनिधीको संख्या बृद्धि गर्न यस्तो व्यवस्था लागु गरिएको हो ।
मतदान केन्द्रमा जाँदा
यो निर्वाचनले स्थानीय तहमा जनप्रतिनिधि छान्ने हो । त्यसकारण तपाई आफ्नो वडाबाट मात्रै मतदानमा भाग लिन सक्नुहुन्छ । मत दिनुअघि तपाईको नाम मतदाता नामावलीमा सुचीकृत भएको हुनुपर्नेछ । यदि तपाईको उमेर पुगेको छ र मतदाता नामावलीमा पनि नाम उल्लेख छ भने तपाईसँग मतदानको अधिकार रहन्छ ।
मतदानका लागि मतदान केन्द्रमा जाँदा तपाईले मतदाता परिचय पत्र बोक्नुपर्छ । यदि परिचय पत्र हराएको, विग्रीएको भए सक्कल नागरिकता, लाइसेन्स, राहदानी वा राष्ट्रिय परिचय पत्र पनि बोक्न सक्नुहुन्छ । यी परिचय पत्र सक्कल भने हुनुपर्छ । आयोगले फोटोकपी वा मोबाइलको खिचिएको फोटोलाई मान्यता दिदैन ।
अब तपाई मतदान केन्द्रमा पुगेपछि निर्वाचन सुरक्षा र संचालनमा खटिएको कर्मचारीले भने बमोजिम लाइनमा बसेर आफुलाई मन पर्ने उम्मेदवारलाई मत दिएर फर्कनु पर्नेछ ।
पानी परे के गर्ने
मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्न सक्ने जनाएको छ ।
पानी पर्यो भने के गर्ने त ? पानी पर्यो भने पनि निर्वाचन रोकिदैन । त्यसैले छाता वा प्लाष्टिक ओडेर मतदानमा भाग लिन जानुपर्छ ।
मतदान केन्द्रमा पुग्दा तपाईको हात ओभानो हुन जरुरी छ । त्यसका लागि सानो रुमाल वा पानी ओस्ने कपडा बोक्नुहोला ।
यदि तपाईले ओसीलो हातले मतपत्र छुनु भयो भने मतपत्र विग्रन सक्छ । त्यातिन सक्छ ।
तपाइले लगाउनु भएको स्वस्तीक छापको मसी अर्कोतर्फ गएर टासिन सक्छ । त्यस्तो भएमा तपाईको मत बदर हुन्छ । त्यसैले मतदान केन्द्रमा प्रवेश गर्दा तपाईको हात सुख्खा हुन जरुरी हुन्छ ।
कसरी मत दिने ? मत दिने तरिका
प्रत्येक मतदाताले ७ जना फरक फरक पदका उम्मेदवारलाई मत दिन सक्नेछन् । तपाईको हातमा मतपत्र प्राप्त भएपछि पहिलो ठाडो लाइनमा मेयर वा अध्यक्षको उम्मेदवारको चुनाव चिन्ह देखिन्छ । त्यसमध्ये तपाईले आफुलाई मन पर्ने उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाउनुस् । छाप लगाउँदा चिन्ह घेरिएको रेखा छुनु हुँदैन ।
त्यसपछि उपमेयर वा उपाध्यक्षको उम्मेदवारको लाइनमा मन परेको उम्मेदवारको चिन्हलाई मत संकेत गर्नुहोस् । यसैगरी वडाध्यक्षमा एक जनालाई, वडा सदस्यमा खुल्लातर्फ दुई जना, एक जना दलित महिला सदस्य र महिला सदस्यलाई मत संकेत गर्नुपर्छ ।
तपाईको त्यही मत संकेतका आधारमा तपाईको स्थानीय तहमा आगामी ५ बर्ष कस्ता व्यक्तिले पालिका संचालन गर्नेछ भन्ने तय गर्नेछ ।
सार्वजनिक विदा
नेपाल सरकारले वैशाख ३० गते हुने निर्वाचनलाई राष्ट्रिय उत्सव घोषणा गरेर त्यो दिन सार्वजनिक विदा दिएको छ ।
तर पालिकाभन्दा बाहिर रहेका मतदाताहरुलाई वैशाख २९ गते आफ्नो पालिकासम्म जान सरकारले सार्वजनिक विदा दिएको छैन । त्यसैले मतदाताहरुले कार्यालयमा छुट्टी लिएरै मतदानका लागि हिड्नुपर्छ ।
५ बर्षका लागि आफ्नो जनप्रतिनिधि छान्ने भएकाले विदा लिएर भएपनि जानुपर्ने निर्वाचन आयोगको सुचना अधिकारी सूर्य अर्याल बताउँछन् ।
तर मतदान गरेपछि भने आ–आफ्नो कर्मथलो फर्कन हतारिनु पर्दैन । वैशाख ३१ गते शनिबार छ । आइतबार सरकारले साप्ताहिक विदा दिन थालेको छ । जेठ २ गते सोमबार बुद्ध जयन्तीमा पनि सरकारले सार्वजनिक विदा दिएको छ ।
मतदानपछि तपाईसँग तीन दिनको फुर्सदको समय रहन्छ । मतदानपछि मतगणनाको चासो हुन्छ ।
हरेक क्षणको अपडेटका लागि तपाई www.nepalwatch.com लगइन गरेर बस्न सक्नुहुनेछ ।
निर्वाचन सुरक्षा
सरकारले निर्वाचनलाई धाँधलीरहित, निष्पक्ष र स्वतन्त्र बनाउन चार वटै सुरक्षा निकाय परिचालन गरेको छ । चार वटा सुरक्षा निकायमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान पर्छ । म्यादी प्रहरी नेपाल प्रहरीको मातहतमा रहन्छ ।
तपाई मतदान केन्द्रमा जाँदा त्यहाँ नेपाल प्रहरी र म्यादी प्रहरी मात्र देख्न सक्नुहुनेछ । राष्ट्रिय अनुसन्धानका प्रहरी सादा पोसाकमा हुने भएकाले तपाईले चिन्न सक्नुहुँदैन । मतदान केन्द्रका आसपासमा सशस्त्र प्रहरी पनि देख्न सक्नुहुनेछ । नेपाली सेना भने सबैभन्दा बाहिरी घेरमा बसेर निर्वाचत सुरक्षामा खटिएको हुन्छ ।
निर्वाचनलाई सुरक्षित बनाउन सरकारले चार वटा सुरक्षा निकायलाई तीन घेराको सुरक्षा रणनीति बनाएर लागु गरेको छ ।
निर्वाचनको दिन नजिकैबाट हेलिकप्टर उडेको देख्नुभयो भने पनि स्वभाविक रुपमा लिनुपर्छ । नेपाली सेनाले तपाईकै सुरक्षाका लागि हेलिकप्टर गस्ती गरिरहेको हुन्छ । निर्वाचन सुरक्षाका लागि झण्डै तीन लाख सुरक्षाकर्मी खटिएका हुन्छन् ।
शून्य समय
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान शुरु नहुँदासम्मको अवधिलाई मौन अवधि भनिन्छ । यो समय मतदातालाई निर्वाचनमा कुन प्रतिनिधि छान्ने भनेर स्वविवेकको निर्णय गर्न दिइएको समय हो । यो समय आज मध्येरातबाट शुरु भएर मतदान नसकिदासम्म कायम रहन्छ ।
यस अवधिमा मतदातालाई कुनै किसिमको प्रलोभन, डर, धाकधम्की दिन पाइदैन । स्वतन्त्र रूपमा छोडिनुपर्छ । त्यो अवधिमा कुनै पनि उम्मेदवारले आफ्नो प्रचार प्रचार गर्न पाउँदैन । गरेमा निर्वाचन आचार संहिता विपरितको काम हुनेछ ।
यसै अवधिमा निर्वाचन आयोगले मतदाता केन्द्रमा बुथ निर्माण, मतपेटिका व्यवस्थापन लगायतका तयारीको काम गर्छ । शून्य समयमा के गर्ने के नगर्ने ? मौन समयमा घरदैलो गर्न, चुनाव प्रचार प्रसार गर्न, अन्तरक्रिया गर्न, नारा जुलुस गर्न, सभा सम्मेलन गर्न तथा पोष्टर पम्पलेट टाँस्न पाइदैन । तर परिवारका सदस्यहरुवीच मतदान गर्ने तरिका, मतदाता शिक्षा सम्वन्धि छलफल र अभ्यास गर्न पाइन्छ । यस अवधिमा दलीय प्रतिनिधिहरुले कुनै पनि राजनीतिक गतिविधि गर्न पाउँदैनन् ।
तपाई मतदाता हुनुहुन्छ भने यस अवधिमा आफ्नो सामाजिक संजालबाट पनि निर्वाचन प्रचार प्रसार वा कसैको विरुद्धमा लेख्न, बोल्न र सन्देश दिन पाउनुहुन्न । गरेर निर्वाचन आचार आचार संहिता उल्लंघन गरेवापत निर्वाचन ऐनअनुसार कारबाही हुनेछ ।
मतदान समय
वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई मतदान समय तोकिएको छ । तपाई समयमै आफ्नो नाम रहेको मतदान केन्द्रमा पुगेर मतदानमा भाग लिन सक्नुहुनेछ ।
मतदाताको आत्मनिर्णयको अधिकार
निर्वाचमा सबै मतदातालाई आत्मनिर्णयको अधिकार हुन्छ । आफूलाई मनपरेको उम्मेदवार, पार्टी छनोट गर्न मतदात पूर्णरूपमा स्वतन्त्र छन् । कसैको धाक, धम्की, डर, त्रास र कुनै किसिमको प्रलोभनबिना तपाईलाई मतदान गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । आफ्नो विवेकले रुचाएको उम्मेदवारलाई मतदान गर्नु हरेक मतदाताको कर्तव्य हो ।
मतदानमा जाँदा ध्यान दिनुपर्ने विषयहरू
मतदानमा जाँदा निर्वाचन आयोगले दिएको मतदाता परिचय पत्र लैजान भुल्न हुँदैन । साथमा नागरिकता पनि लैजानुपर्नेछ । मतदान केन्द्रभित्र प्रवेश गर्दा कुनै प्रज्वालनशील प्रदार्थ, हातहतियार, मोबाइ जस्ता बस्तुहरू लैजान पाइने छैन ।
मतदान केन्द्रभित्र प्रवेश गरेपछि मतदाताले आफ्नो परिचयपत्र देखाइ निर्वाचन अधिकृतले दिएको फर्म भर्नुपर्नेछ । फर्म भरिसेकपछि मतदान अधिकृतको सहि भए नभएको परिक्षण गर्नुपर्ने छ । त्यसपछि बुथमा गएर आफूलाई मनपर्ने उम्मेदवारको चिन्हमा बदर नहुनेगरी स्वस्तिक छाप लगाएर मतपत्र बासमा खसालेर बाहिरिनु पर्नेछ ।
मतगणना परिणाम
निर्वाचनको दिन निर्धारित समयमा मतदान सकिएपछि त्यहाँका राजनीतिक दलका प्रतिनिधिको रोहबरमा मतपेटिका रुजु गरिन्छ । त्यसपछि सबै प्रतिनिधि सामु निर्वाचन अधिकृतले मुचुल्का उठाइ मतपेटीका सिल गर्दछ । सुरक्षा घेरामा रहेर सबै मतदान केन्द्रबाट मतपेटीका पालिकाकेन्द्र वा आयोगले तोकेएको स्थानमा लगिन्छ ।
निर्वाचन आयोगले सामान्यतया मतदान सकिएको २ वा ३ घण्टापछिबाट मतगणना सुरु हुने अनुमान गरेको छ । यो स्थानीय निर्वाचन भएकाले कम मतदाता भएको स्थानीय तहहरुमा वैशाख ३० गतेमध्येरातीबाटै मतपरिणामहरु आउन थाल्नेछन् ।
तर महानगरपालिका, उपमहानगरपालिका र धेरै मतदाता भएका स्थानीय तहको मतपरिणाम आउन भने समय लाग्नेछ । आयोगले ढिलामा जेठ दुई गतेसम्म सबै स्थानीय तहको मतपरिणाम आइसक्नेछ ।
प्रतिक्रिया
3 thoughts on “वैशाख ३० गते मतदाताले थाहा पाउनै पर्ने विषयहरू”