NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

प्रचण्डले मत हाल्दा छोरी रेनुको मन्द मुस्कान, यिनै बाकसभित्र छ उनको भविष्य

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन भतरपुर–१४ स्थित पुलिस स्कुल, शान्तिपुरबाट शुक्रबार मतदान गरे ।

सत्ता गठबन्धनका मेयरका साझा उम्मेदवार रहेकी रेनु दाहाल, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलगायत उम्मेदवारलाई प्रचण्डले मतदान गरेका हुन् ।

६ महानगरपालिकामध्ये सबैको ध्यान यतिबेला भरतपुर रहेको छ । भरतपुर प्रचण्डका गृहनगर हो । मेयरका उम्मेदवार रेनु उनकी छोरी हुन् । गत निर्वाचनमा वडा नम्बर १९ मा माओवादी कार्यकर्ताहरूले मतपत्र त्यातेपछि पुनः मतदान गराउन अदालतले आदेश दिएको थियो । त्यसपछिको मतगणनामा जम्मा २०३ को मतान्तरणले उनी विजयी भएकी थिइन् ।

दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा बुवाले मतदान गरिरहेका बेला उनी नजिकै बसेर मुस्कुराइरहेकी देखिन्छिन् । योपटक गठबन्धन र विपक्षी एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । रेनुलाई हराउनकै लागि एमालेले अन्तिम समयमा राप्रपासँग चुनावी तालमेल गरेको छ । कांग्रेसका नेता जगन्नाथ पौडेल पनि उनकै विरुद्ध मैदानमा उत्रिएका छन् ।

त्यसैले योपटक भरतपुरको निर्वाचन रोचक हुने देखिन्छ । अहिले भरतपुरका मतदाताले कस्तो सन्देश दिनेछ भन्नेमा देशकै ध्यान खिचिएको छ । प्रचण्डकै भाषामा गठबन्धन रहने वा नरहने फैसला भरतपुर मतदाताले दिनेछ । २९ वडा रहेको यो महानगरमा ६५ मतदान स्थल र २०२ केन्द्र रहेका छन् । जम्मा मतदाता एक लाख ८५ हजार ७५२ रहेका छन् ।

सबैभन्दा बढी विवाद र चर्चामा रहेकाले यस महानगरलाई स्थानीय प्रशासनले सुरक्षाको दृष्टिले अति संवेदनशील महानगरमा राखेको छ ।

मतगणना स्थलमा समेत फलामको बलियो घेरा लगाइएको छ । अघिल्लो पटक ४३ हजार १२७ मत ल्याएर विजयी भएकी रेनुले कति भोट ल्याउँछिन् त्यो प्रतीक्षाको घडी थोरै छ । यिनै २०२ बाकसले नै रेनुको दोस्रो पटकको इनिङ र गठबन्धनको भविष्य निर्धारण गर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष