NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना धमाधम सुरु भएको छ । गणना सुरु हुन नसकेका स्थानीय तहमा पनि तयारी अघि बढाइएको छ ।

देशभरका ८ स्थानीय तहमा अहिलेसम्म हार जित छुट्टिसकेको छ । मनोनयनकै क्रममा निर्विरोध भएका र कम मतदाता रहेका स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको हो ।

अन्तिम किनारा लागेका स्थानीय तहमध्ये तीनको अध्यक्ष र दुईको उपाध्यक्षमा एमाले उम्मेदवार चयन भएका छन् । दुई स्थानीय तहको प्रमुखमा कांग्रेसको पल्लाभारी भएको छ भने समाजवादी दुई स्थानीय तहमा निर्वाचनपूर्व नै निर्विरोध भएको छ । सत्ता साझेदार दल माओवादी केन्द्र भने खाता खोल्न प्रतीक्षारत छ ।

मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । कांग्रेसका छिरिङ दोर्जे लामालाई स्तब्ध पार्दै घलेले जित निकालेका हुन् ।

गाउँपालिका अध्यक्षमा घलेको यो दोस्रो जित हो ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार देवबहादुर गुरुङलाई १८५ मतान्तरले पराजित गर्दै विष्ट विजयी भएका हुन् ।

यो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरुङले जितेका छन् ।

डोल्पाको शे–फेक्सुण्डो गाउँपालिका अध्यक्षमा यसअघि नै एमाले उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले हालसम्म दुई स्थानीय तहको अध्यक्ष र ३ उपाध्यक्षमा जित निकालेको छ ।

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामाको पल्लाभारी भएको छ ।

उनले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई पछि पार्दै त्यहाँ जित निकालेका हुन् ।

कोन्जो १५८ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी कृष्णबहादुरले १११ मत ल्याए ।

यो निर्वाचनमा कांग्रेसले जित निकालेको यो पहिलो स्थानीय तह हो ।

उता, मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन  विजयी भएका छन् ।

एमाले उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै लालचन  विजयी भएका हुन् । लालचनको ७६० र एमालेका सन्जयकुमार थकालीको ७५८ मत छ ।

त्यहाँको उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापामगर ७९३ मतका साथ विजयी भएकी छन् ।

दुई गाउँपालिकाका अध्यक्ष र एकको उपाध्यक्षमा समाजवादीबाट चयन भएका छन् । त्यसो त समाजवादीका यी उम्मेदवार वैशाख ३१ को चुनावबाट नभएर त्यसपूर्व नै निर्विरोध भएका हुन् । देशभरका १८१ स्थानीय तहबाट प्राप्त स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाममा यो दलले तीन स्थानको अध्ययक्ष र प्रमुखमा लिड गरिरहेको छ ।

गठबन्धन बनाएर चुनावी मैदानमा होमिएको माओवादी केन्द्रले भने अहिलेसम्म कुनै पनि स्थानीय तहमा जितको खाता खोल्न सकेको छैन । तथापि, उसले देशभरका मतगणना जारी रहेका २८ स्थानमा अग्रता लिइरहेको छ ।