NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित

चितवन । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ ।

कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले गरेका छन् । विगतका दिनमा सँगै दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले आइतबार पनि बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।

पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायी विप्लव पौडेल दुई दिन बिदाको माग आफूहरुको भएको बताउछन् । पोखरा र चितवनको मेघौलीमा रहेको होटल बाराहीका सञ्चालक पौडेलले यो बिदाबाट होमस्टेदेखि ठूला होटलसम्म पर्यटक बढ्ने बताउँछन् ।

उनले भने “यसले आर्थिक क्षेत्र चलायमान बनाउँछ । ”दुई दिन घुमफिर र रमाइलो गरेपछि पाँच दिन गर्ने काम जोश, जाँगर भरिएर थप राम्रो हुने पौडेलको भनाइ छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई यसअघिको अवस्थामा नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा ५० प्रतिशत पर्यटक बढ्ने गरेको बताउछन ।

आन्तरिक पर्यटकलाई घुमफिरका लागि मिल्दो समयको अभाव हुँदै आएकामा यो बिदाले लाभ मिलेको उनको भनाइ छ । उनी भन्छन् “अन्य दिनको तुलनामा बिदाको दिनमा पर्यटक बढ्ने गर्छ, सँगै दुई दिन बिदा हुँदा पक्कै पर्यटक बढ्छ । ”कोभिडका कारण थलिएको पर्यटन क्षेत्र दुई दिन बिदासँगै पहिलेको भन्दा राम्रो हुने आफ्नो अनुमान रहेको भट्टराईले बताए ।

बिदा हुन थालेसँगै लक्षण सकारात्मक देखिएको उनले जानकारी दिए । पारिवारिक घुमफिर यो बिदाले बढाउने अपेक्षा व्यवसायीको छ । क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया टेलिफोनबाट बुझ्ने र बुकिङ गर्ने क्रम बढ्न थालेको बताउँछन ।

देशको मध्यभागमा रहेकाले सौराहामा एक रात बिताउन छिमेकी धेरै जिल्लाबाट आउन सहज छ । एक रातको बसाइमा यहाँका महत्वपूर्ण गतिविधिमा सहभागी हुनसक्ने भएकाले केही हप्तापछि नै राम्रो नतिजा आउने थपलियाले बताए ।

विदेशी पर्यटकको सङ्ख्या घटेसँगै पर्यटन क्षेत्र आन्तरिकले धानेको छ । मुख्यरूपमा नेपालमा पोखरा, लुम्बिनी, चितवन, काठमाडौँलगायतका क्षेत्रमा पर्यटक धेरै पुग्ने गर्दछन् । आइतबार हुने बिदामा यी क्षेत्रमा पर्यटकको चाप बढ्ने व्यवसायीको अनुमान छ ।

होटल नारायणी रिसोर्ट गैंडाकोट निर्देशक वसन्त पराजुली दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउछन । उनले भने, “बिदामा परिवारसहित घुम्ने प्रचलन बढ्छ ।” विगतको सार्वजनिक र लामो बिदामा आन्तरिक पर्यटकले होटल भरिने गरेको उनको अनुभव छ।

पर्यटनविद् डा विश्व सुवेदी दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन । उनले, भने “घुम्न हिँड्नका लागि समय मिल्छ । एक दिन घरको काम र अर्को दिन घुम्ने हिँड्न पुग्छ । ” यसले नजिकका पर्यटन क्षेत्रमा घुम्न जान सहज हुने उनको भनाइ छ ।

कोरोनाका कारण घरमै बसेकाहरू घुम्न चाहिरहेको बेला बिदा पाउँदा यसले पर्यटन क्षेत्र थप चलायमान बनाउने उनले बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष