NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

यी हुन् आफ्नै वडा र पालिका जोगाउन नसक्ने शीर्ष नेता

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६४३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचनबाट पहिलो दलमा कांग्रेस उदाएको छ । दोस्रोका एमाले र तेस्रोमा माओवादी केन्द्र छ । जसपा चौंथो शक्तिमा उदाएको छ । एमालेबाट विभाजित भएर बनेको माधव नेपालको नयाँ दल एकीकृत समाजवादी पाँचौं स्थानमा छ । छैटौंमा लोसपा छ ।
जारी मत परिणाम अन्त्यतिर पुग्नै लाग्दा नयाँ–नयाँ रेकर्ड कायम भएको छ । महानगर र उपमहानरमा पुराना शक्ति कांग्रेस र कम्युनिस्टका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । कांग्रेस, एमाले, माओवादीको मुख्य नेताकै वडा तथा गाउँपालिकामै आफ्ना उम्मेदवार पराजित भएका छन् । कतै कांग्रेस एमालेका गढ मानिएका पालिका नै विपक्षीले भत्काइदिएका छन् । अब आफ्नै वडा तथा पालिकामा पराजित भएका शीर्ष नेताहरूबारे चर्चा गरौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापामा राप्रपाले कब्जा गरेको छ । एमालेको गढ रहेको दमक नगरपालिकामा राप्रपाका उम्मेदवार राम थापा मेयरमा विजयी भए ।

शेरबहादुर देउवा

स्थानीय तह निर्वाचनमा आफ्नो दललाई सबैभन्दा ठूलो दल बनाउन सफल भएका कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पालिकामा पराजित भएका छन् । देउवाको गृहनगर बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै एमाले विजयी भयो । एमालेका उम्मेदवार मिठाराम अधिकारी १४ हजार २५० मत पाए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए । देउवाको पुख्र्यौली थलो डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ वडामै कांग्रेसका उम्मेदवार पराजित भए ।

केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापामा राप्रपाले कब्जा गरेको छ । एमालेको गढ रहेको दमक नगरपालिकामा राप्रपाका उम्मेदवार राम थापा मेयरमा विजयी भए । थापाले १७ हजार ५२५ मतले विजयी हुँदा एमालेका उम्मेदवार गीताकुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । थापाको मतान्तर ५५९ रहेको छ । थापा गठबन्धनको सहयोगमा चुनावी प्रतिस्पर्धा गरेका थिए । ओलीकै नगरमा राप्रपा विजयी भएपछि एमालेलाई गम्भीर धक्का लागेको छ ।

त्यस्तै ओलीको जन्मगाउँ तेह्रथुमको आठराई गाउँपालिकामा एमाले पराजित भयो । पालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी भएका छन् । ओली निवास रहेको भक्तपुर सूर्यविनायकमा भने मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएका छन् । ओलीकाे निवास रहेकाे वडा नम्बर ३ मा एमाले कांग्रेससँग पराजित भयाे ।

माधवकुमार नेपाल

एमाले अध्यक्ष ओलीसँग विद्रोह गरी एकीकृत समाजवादी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै वडामा पराजय भोगेका छन् । काठमाडौं महानगरपालिका–३२ एकीकृत समजवादीका उम्मेदवारलाई पराजित गरी एमालेले ‘क्लिन स्विप’ गरेको छ । अध्यक्षमा नवराज पराजुली तेस्रोपटक विजयी भएका हुन् । वडाध्यक्षसहित अन्य ४ जना सदस्य पनि एमालेले जितेको छ ।

महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका रामेश्वर श्रेष्ठ एमालेका उम्मेदवार सुनीता डंगोलभन्दा धेरै पछि परेका छन् । डंगोलले २० हजार ५३६ मत पाउँदा श्रेष्ठले ७ हजार ६७ मतमा खुम्चिएका छन् । रौतहटको गृहनगरमा भने एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै गृहनगर जोगाउन सकेनन् । जसपाका उम्मेदवारलाई विजयी गराउन एक हप्तासम्म गोरखा पालुङटार बसेका भट्टराईको मेहनत खेर गयो । पालुङटारको मेयर र उपमेयरमा माओवादीका उम्मेदवार विजयी भएका छन् । मेयरमा विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बने । उपमेयरमा बन्दना पाण्डे ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन् ।

नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो गृहपालिका जोगाउन सकेनन् । गोरखाको सिरानचोकमा कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४ सय ३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै रिता देवकोटा विजयी भएकी छिन् ।

रामबहादुर थापा बादल

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको गृहनगर भरतपुर–१० मा एमाले पराजित भएको छ । कांग्रेसका परमेश्वर खनालले २ हजार ४२८ मत पाउँदा एमालेका उम्मेदवार भक्तिप्रसाद गौतमले २ हजार १०१ मत पाएका थिए । भरतपुर महानगरपालिकामा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् ।

डा. सिके राउत

पृथकतावादी आन्दोलन त्यागी स्थानीय तह निर्वाचनमा भाग लिएको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो गृहपालिकामा नै पराजय भोगेका छन् । राउतको स्थायी बसोबास रहेको सप्तरीको महादेवा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले खोसेपछि राउतले वडाध्यक्षमै चित्त बुझाएका छन् ।

लोसपाका उम्मेदवार सुनिलकुमार मण्डलले ४ हजार ५७० मत ल्याइ विजयी हुँदा राउतको पार्टी चौंथो स्थानमा सिमित भयो । त्यस्तै उपमेरमा लोसपाकै उम्मेदवार अर्चनाकुमारी यादवले ३ हजार ३६७ मत प्रप्त गरिन् । उपमेरमा पनि जनमत पार्टी चौंथो स्थानमा रहेको छ ।

कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेको हेटौंडा–६ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । दोस्रो स्थानमा एमाले रहेको छ । तेस्रो स्थानमा राप्रपा रहेको छ । राप्रपाको अध्यक्षमा पराजय भोगेपछि पार्टी परित्याग गरी राप्रपा नेपालको अध्यक्ष बनेका थापा स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिन्हबाट चुनाव लडेका थिए ।

यी हुन् धेरै मतान्तरले हारजित हुनेहरू – NepalWatch