सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एमाले उम्मेदवार विजयी
सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए । उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याइन् । इन्दुदेवी यादव निवर्तमान उपप्रमुख थिइन् ।
वडाध्यक्षमा एमाले र कांग्रेसले चार/चार, जसपा र लोसपाले एक/एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
कांग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, वडा २ मा रहमान मियाँ, वडा ३ मा भागेश्वर यादव र वडा ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी भएका छन् । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन् ।
योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक/एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।
अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया