मूल्य बढेसँगै प्राधिकरणले गर्यो कर्मचारीको इन्धन सुविधामा २० प्रतिशत कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई प्रदान गर्दे आएको इन्धन सुविधामा २० प्रतिशतसम्म कटौती गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परिपत्र जारी गर्दै कर्मचारीलाई उपभोग गरिरहेको इन्धनमा २० प्रतिशत कटौति गरेको जानकारी दिए ।
बढ्दो व्यापार र पछिल्लो समय अन्तराष्ट्रिय परिदृश्य तथा वैदेशिक मुद्राको सञ्चितीमा देखिएको संकटले आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको प्राधिकरणको ठहर छ । प्राधिकरणले इन्धन आयातमा ठूलो रकम खर्च हुने भएकाले यसको नियन्त्रण गर्नुपर्ने कारण इन्धनमा कटौति गरेको जनाएको छ ।
विद्युत प्राधिकरण सामान्य सेवा विभागको सवारी सुविधा प्राप्त अधिकृतहरुले प्रयोग गर्ने ३ सिलिण्डर सवारी साधनको लागि बढीमा मासिक १०० लिटर र सो भन्दा बढी सिलिण्डरको सवारी साधनको लागि बढीमा मासिक १२० लिटर इन्धन दिने व्यवस्था भएकोमा अर्थमन्त्रालयको निर्णय अनुसार २० प्रतिशत कटौति गर्ने पत्र प्राप्त भएकोले सो बमोजिम ३ सिलिण्डर सवारी साधनको लागि ८० लिटर र सो भन्दा बढी सिलिण्डरको सवारी साधनको लागि ९६ लिटर मात्रै इन्धन सुविधा दिने निर्णय गरेको छ ।
मोटर साइकल सुविधा प्राप्त कर्मचारीको हकमा मासिक बढीमा १६ लिटर इन्धन दिँदै आएकोमा २० प्रतिशत कटौति गरी १३ लिटर दिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालयमा सामान्य सेवा विभागले सकभर विद्युतीय सवारी साधन मात्र पुल गाडी राख्नु पर्ने, सामान्य सेवा बाहेका अन्य कुनै विभागले अत्यावश्यक बाहेक पुलमा गाडी नराख्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको कार्यको सिलसिलामा कोटा भन्दा बढी इन्धन आवश्यक भएमा २० प्रतिशत कटौति गरी हुन आएको कोटाको २० प्रतिशतसम्म सम्बन्धित उपकार्यकारी निर्देशकको स्वीकतिले मात्र थप इन्धन दिन पत्रमा उल्लेख गरिएको छ ।
सम्पूर्ण निर्देशनालय, विभाग, महाशाखा तथा शाखाहरुको कोटाको हकमा सोही बमोजिम र अन्यको हकमा इन्धनवापतको खर्चमा २० प्रतिशतले कटौति गरेको हो ।
कार्यालयको कामको सिलसिलामा उपत्यका बाहिर जाने अधिकृत कर्मचारीहरुको स्वीकृत भ्रमण आदेश अनुसार भ्रमण गर्नुपर्ने कार्यालयको दूरी हरी, कामको प्रकृतिको आधारमा पूरा इन्धनको व्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया