NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

मूल्यवृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई मंगलबार मन्त्रालयमा भेटि ती विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

मन्त्री बडुले अहिले नै मूल्यवृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यवृद्धिका सम्बन्धमा छलफल गरिने बताएका वैज्ञानिक समाजवादी विद्याथी संगठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिए । विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी संगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन् ।

यस्तै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको अत्याधिक करबारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन् ।

यस्तै विद्याथी संगठनले भोलि जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । आयल निगमले गत वैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्याँसमा प्रति सिलिण्डरमा २०० रूपैयाँ वृद्धि गरेको थियो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू अखिल (छैटौं), समाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थीले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष