काठमाडौंमा यसरी भयो केशव स्थापितको शर्मनाक हार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाकाे नतिजा तहल्का पिट्ने खालको आएको छ । अन्तिमतिर पुगेको मतगणनामा परम्परागत बलिया कांग्रेस र एमालेलाई शर्मनाक हार चखाएर स्वतन्त्रका बालेन शाहले तहल्का पिटेका हुन् । र्यापर बालेनको उदयले काठमाडौंमा एमाले र कांग्रेसलाई ठूलो धक्का लागेको हो ।
अघिल्लो निर्वाचनमा ६४ हजार ९१३ मत ल्याइ सानदार विजयी भएको एमाले योपटक दोस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेको छ । निर्वाचन अघि विपक्षीको भन्दा दोब्बर मत ल्याइ विजय हुने दाबी गरेको एमालेका उम्मेदवार केशव स्थापित दोब्बर मतले पराजित हुने देखिन्छ ।
पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह ५१ हजार कट्दा एमालेका उम्मेदवार स्थापित ३१ हजारको लागि पनि संघर्षरत छन् । उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विपक्षीको भन्दा तेब्बर मतले अग्रता लिएकी छिन् । डंगोलले ५३ हजारको हाराहारी मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा १८ हजारको हाराहारीमा मत प्राप्त गरेका छन् ।
एक लाख ९० हजार भन्दा बढी मत खसेको काठमाडौंमा अब २५ प्रतिशत पनि गणना गर्न बाँकी छैन । ३० प्रतिशत मतगणनाले केही अर्थ नराख्ने तर्क गर्दै ७० प्रतिशत मत गणना हुँदा ‘गेम इन्ट्रेस्टिङ’ हुने दाबी स्थापितले गरेका थिए । तर ‘गेम साँच्चिकै ‘इन्ट्रेस्टिङ’ मोडमा पुग्दै गर्दा एमालेलाई नमिठो झड्का लागेको छ । स्थापितले दाबी गरेजस्तो मतपरिणाममा ट्वीस्ट कतिखेर पनि आएन । सुरूवातदेखि अन्तिमसम्मै स्थापितले एकपटक पनि गणनामा अग्रता बनाउन सकेनन् । बरू दाेस्राेबाट तेस्राेमा पुगे । ३२ वडा रहेको काठमाडौंमा अहिलेसम्म दुई तिहाइ बढी वडाको नतिजा आएको छ ।
एक महानगरसहित ११ नगरपालिका रहेको काठमाडौंमा एमालेले बुढानिलकण्ठमा मेयर र उपमेयर दुवै जितेको छ । टोखामा मेयरमा मात्र चित्त बुझायो । यी बाहेक ८ वटा उपमेयर जितेको छ ।
एमालेले कहाँ पायो ? कहाँ गुमायो ?
अघिल्लो निर्वाचनमा काठमाडौंमा मेयर जितेको एमालेले योपटक उपमेयरमा चित्त बुझाउने देखिन्छ । अघिल्लो पटक कागेश्वरीमा दुवै पद जितेको एमालेले योपटक मेयर पद गुमायो । एमालेको लालकिल्ला कीर्तिपुर योपटक भत्कियो । चन्द्रागिरीमा योपटक पनि उपमेयरमा चित्त बुझायो । अघिल्लो पटक दुवै पद जितेको टोखामा यो पटक उपमेयरमा सीमित भयो । ०७४ मा दुवै पदमा विजयी भएको तारकेश्वरमा एमालेले योपटक दुवै पद गुमायो । नार्गाजुनमा उपमेयरमा नै निरन्तरता पायो । बूढानीलकण्ठमा विरासत जोगायो । गत निर्वाचनमा शंखरापुरमा दुवै पद जितेको थियो तर योपटक दुवै पद गुमाएर एमाले तेस्रोमा खुम्चिएको छ । योपटक दुवै गुमायो । त्यस्तै दक्षिणकालीमा एमालेले योपटक पनि खाता खोल्न सकेन । गोकर्णेश्वरमा अघिल्लो रेकर्ड तोड्दै उपमेयरमा खाता खोल्यो ।
एमालेले काठमाडौंमा महानगरपालिका सहित सबै स्थानीय तहमा सानदार जित निकाल्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चुनावी कमाण्डर बनाएको थियो । विपक्षी गठबन्धनलाई भत्काउँदै काठमाडौंमा सानदार मत ल्याउने दाबी गरेको थियो । तर अनपेक्षित मतपरिणाम आएपछि निर्वाचनको समग्र परिणामबारे गम्भीर समीक्षा गर्ने एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बताएका छन् ।
‘उम्मेदवार छनोट गर्ने विषयमा त्रुटी भएको छ । हाम्रा पनि केही गल्ती छन् । सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि गम्भीर समीक्षा गर्छौं’, अध्यक्ष निरौलाले भने ।
गठबन्धनविरुद्ध एक्लै भिड्दा सिट संख्याको हिसाबले केही क्षति भएपनि जनमतको हिसाबले एमालेलाई केही असर नपरेको उनको दाबी छ । काठमाडौंमा एमालेको अनपेक्षित हारसँग जोडेर एमाले अहिल्यै कमजोर भयो भन्नु तर्कसंगत नभएको उनी बताउँछन् ।
‘एकाध कुनै एक व्यक्ति निर्वाचित भयो वा लोकप्रिय मत ल्यायो भन्दैमा आक्तिनुपर्ने स्थिति छैन । तर योपटक जनताले राजनीतिक दललाई जनमतबाट सन्देश दिएका छन्’, उनले भने, ‘त्यसबारे गम्भीर समीक्षा हुन जरुरी छ ।’
अध्यक्ष निरौलाले उम्मेदवार चयनको विषयमा नेतृत्वको ध्यान नगएको स्वीकारेका छन् । तर पार्टीभित्रबाटै अन्तरघात भएको विषयमा उनी खुल्न चाहेनन् ।
मेयर शाक्य र पूर्वमन्त्री मानन्धरबाटै स्थापितलाई असहयोग
पार्टीबाट मेयरको टिकट पाउने पक्कापक्की भएपछि स्थापितले वाग्मती प्रदेशसभाबाट राजीनामा दिएका थिए । महानगर र उपमहानगरको मेयर र उपमेयर छनोट केन्द्रले नै टुंग्याउने भएकोले मेयरको टिकटका लागि ओली निवास बालकोट धानउनेमा स्थापितसहित मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर लगायतका धेरै नेताहरू थिए ।
चैत ९ र १० गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले सबै स्थानीय तहको उम्मेदवार सर्वसम्मत चयन गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । केन्द्रको निर्देशन बमोजिम सर्वसम्मत् उम्मेदवार छनोट गर्न नसकेपछि एमाले काठमाडौं कमिटीले मेयर तथा उपमेयर पदमा उम्मेदवारका लागि ९ जना आकांक्षीहरूको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामा मेयर शाक्यसहित स्थापित, मानन्धर, महानगर कमिटी अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भयो ।
यस्तै, उपमेयरका लागि रत्ना गुरुङ, पेम्बा लामा, निमा काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस भएको हो । महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्न वैशाख १० गते ओली निवास बालकोटमा बसेको पदाधिकारी बैठकले स्थापितलाई टिकट दियो । उपमेयरमा सिफारिस भएका उम्मेदवारलाई टिकट नदिइ ओलीले स्वतन्त्रमा उम्मेदवारी दिएकी सुनिता डंगोललाई टिकट दिए । डंगोल एमाले राजनीतिभन्दा बाहिरकी महिला थिइन् ।
स्थापितले टिकट पाएपछि असन्तुष्ट रहेका शाक्य, मानन्धर र देउलाले स्थापितलाई असहयोग रहेका स्थापित निकट नेताको गुनासो छ । स्थापितले त मे दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीकै अगाडि मेयरले आफूलाई असहयोग भएको गुनासो पोखेका थिए । टिकट नपाएको असन्तुष्टि वैशाख १२ गते उम्मेदवारी दर्ता गर्ने दिन स्थापित र डंगोल उत्साहित देखिँदा शाक्य राष्ट्रियसभाको पछाडि बसेर गफिइरहेका थिए ।
मानन्धर अनुपस्थित थिए । त्यसपछि उम्मेदवारको घरदैलो कार्यक्रममा शाक्य र मानन्धर कतैपनि देखिएनन् । शाक्यको अनुपस्थितिलाई आचारसंहिताको कारण देखाउँदै घरदैलोमा सहभागी हुननसकेको शाक्य निकटकाले तर्क गरे । मानन्धर महानगरको कार्यक्रममा नगइ नगरपालिकाको कार्यक्रममा व्यस्त भए ।
मेयर र पूर्वमन्त्रीबाट असहयोग भएको विषयमा अध्यक्ष निरौलाले अहिले व्यक्ति विशेषमा गएर प्रतिक्रिया दिने विषय नभएको बताए । कुनै व्यक्ति विशेषलाई तोकेर आरोप लगाउनुभन्दा पनि आफ्नो कमजारी स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
‘स्थापित भोलि एमालेमा रहलान वा नरहलान्, त्यो उहाँको कुरा हो’, उनले भने, ‘अहिल्यै नै व्यक्ति विशेषमा उत्रिएर आरोप लगाउनु उचित छैन ।’
आरोप लगाउनेले स्थापित एमालेकै नभएका कारण पार्टीले पराजय भोग्यो भन्न सक्छन् भन्दै उनले व्यक्ति विशेषमा जान नहुने उनले स्पष्ट पारे ।
बोलीमा लगाम नलगाउँदा फसे स्थापित
पार्टीबाट असहयोग भइरहेको गुनासो गरेका स्थापित मौन अवधिसम्म पनि आफू जित्नेमा उनी ढुक्क थिए । विपक्षीकोभन्दा दोब्बर मत ल्याएर जित्ने दाबी गरिराखे । अध्यक्ष ओलीलाई पनि त्यही अनुसार आफ्नो एजेण्डा र आगामी कामबारे विश्वस्त गराए । टिकट पाएपछि पार्टीको नीति, योजना र कार्यक्रमबारे आम मतदातालाई बुझाउनुपर्ने थियो । पार्टीमाथि विपक्षीले लगाइएका आरोपको खण्डन गर्नुपर्ने थियो । स्थापित पार्टी नीति विपरीत मिडियामार्फत आक्रामक बन्दै गए । एक स्कुलमा भएको कार्यक्रममा स्थापित यति अमर्यादित रुपमा प्रस्तुत भए कि त्यस घटनाले उनको व्यक्तित्वमाथि प्रश्न माथि प्रश्न तेर्सियो । त्यसपछि स्थापित झनै उग्ररुपमा प्रस्तुत हुन थाले । स्थापितलाई आफू बाहेक चुनावी मैदानमा प्रतिस्पर्धी नै नभएको घमण्ड बढ्न थाल्यो । उनले आफ्नै प्रतिस्पर्धी शाहमाथि जातीयता प्रश्न उठाएर आफ्नो लोकप्रियता खस्काउँदै लगे । घर दैलेमा नगए पनि कोर मतदाताले आफूलाई मत दिने तर्क गर्दै आए । यही अहंकार जालोमा स्थापित फस्दै गए ।
नेतृत्वको ध्यान पुगेन
अघिल्लो निर्वाचनमा अत्याधिक मतसहित मेयर जितेका शाक्यले आफ्नो क्षमता देखाउन सकेनन् । स्थापितले बनाइदिएको घोषणापत्रलाई आधार मानेर १०० दिनमा १०१ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पाँच वर्षमा प्रतिबद्धतापत्रमा व्यक्त भएका १० प्रतिशत काम पनि गर्न सकेनन् । शाक्यको कार्यकालमा महानगरबासी निकै आक्रोसित भएका थिए । असन्तुष्ट जनताको माग सम्बोधन गर्न अध्यक्ष ओलीले शाक्यको विकल्पमा राम्रो उम्मेदवार छनोट गर्न चुके । ओलीले पार्टी नयाँ र सक्षम व्यक्ति धेरै हुँदा हुँदै महिला हिंसाको आरोप खेपेका स्थापितलाई टिकट दिए । स्थापितकै कुरा ओलीले पत्याए । ०५४ सालका गरेको कामको आधारमा ओलीले स्थापितको कुरा पत्याए । ०५४ पछि कहिले माओवादी, कहिले राजा, कहिले बाबुराम त कहिले माधव नेपाल नजिक रहेका स्थापितलाई एमालेभित्र नरुचाइएको पात्रको रुपमा हेर्ने गर्छन् ।
कुन पालिकामा कसको कति मत ?
चन्द्रागिरी
धनश्याम गिरी १५४७५ कांग्रेस विजयी
उत्तमबहादुर राउत १४६५१ एमाले
उपमेयर १५५६५ बसन्ती श्रेष्ठ एमाले विजयी
रोशनी दानी ४४५९ जनमोर्चा
१५ मा ५ वडाध्यक्ष विजयी
टोखा
मेयर प्रकाश अधिकारी १०३४० एमाले विजयी
रजनी थापा १०१६६ कांग्रेस
उपमेयर मुरारी तामाङ १०१३२ कांग्रेस विजयी उपप्रमुख
ज्ञानमाया डंगोल ९५१८
११ मा ९ वडाध्यक्ष विजयी
तारकेश्वर
मेयर कृष्णहरि महर्जन ११९८८ कांग्रेस विजयी
रामेश्वर बोहर ७८०८ एमाले
उपमेयर सिर्जना बुर्लाकोटी १०७८६ कांग्रेस विजयी
भवानी डोटेल ८००६ एमाले
११ मा ३ विजयी
दक्षिणकाली
मेयर मोहन बस्नेत ७२०१ कांग्रेस विजयी
श्रीराम आचार्य ५११२ एमाले
उपमेयर बसन्ती तामाङ ७६२३ कांग्रेस विजयी
इन्दिरा न्यौपाने ४८३० एमाले
९ मा ३ विजयी
नार्गाजुन
मेयर मोहनबहादुर बस्नेत १०१८६ कांग्रेस विजयी
नन्दनहरि गौतम ८३६८ एमाले
उपमेयर सुशीला अधिकारी ९४७४ एमाले विजयी
कल्पना नेपाली २७५३ राप्रपा
१० मा ४ विजयी
बूढानीलकण्ठ
मिठाराम अधिकारी १४२५० एमाले विजयी
विनोद चालिसे ११५१२ एमाले
अनिता लामा १४३१४ एमाले विजयी
रमिला वाग्ले ११९७२
१३ मा १० विजयी
शंखरापुर
मेयर रमेश नापित ४७०० राप्रपा विजयी
लक्ष्मीप्रसाद श्रेष्ठ ४२०२ एस
कृष्णलाल बजगाईं ३६२२
उपमेयर समिता श्रेष्ठ ६६६२ कांग्रेस विजयी
विजयकुमारी वाइवा ३२९८ राप्रपा
लक्ष्मी केसी २९४३ एमाले
कागेश्वरी मनोहरा
मेयर उपेन्द्र कार्की ११३२२ कांग्रेस विजयी
रामशरण ढुंगाना ८२६३ एमाले
उपमेयर शान्ता थापा ९९७५ एमाले विजयी
भोला चापागाईं ५४२२ माओवादी
९ मा ३ विजयी
कीर्तिपुर
राजकुमार नकर्मी ९०४३ कांग्रेस विजयी
केशरत्न बज्र्राचार्य ५५०७ एमाले
उपमेयर शुभलक्ष्मी शाक्य ८६६५ कांग्रेस विजयी
विन्दु महर्जन ७२०६ एमाले
१० मा शून्य
गोकर्णेश्वर
मेयर दिपककुमार रिसाल ९६९२ कांग्रेस विजयी
उद्धव बिष्ट ८५०४ एमाले
उपमेयर सान्नानी लामा ८८०४ एमाले विजयी
शान्ति नेपाल ८६७१ कांग्रेस
९ मा ५ विजयी
प्रतिक्रिया