मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडाैं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले टेकुस्थित आयल निगम घेराउ गरेका छन् । विद्यार्थी संगठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार दुई घन्टा आयल निगम घेराउ गरेका हुन् ।
इन्धनमा लगाइएको कर हटाउन, विद्यार्थीलाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन, वैकल्पिक ऊर्जाको खोज, अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरेर काम अघि बढाउन पनि माग गरेका छन् ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको चुलो बल्न नसक्ने अवस्था आएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर नागरिकको जनजीवन सामान्य बनाउन माग गरेका छन् ।
उनीहरुले मूल्यवृद्धि फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कुन दलको सरकार छ भन्ने हिसाव आफूहरुले नगर्ने भन्दै गरिब जनताको चुल्हो बल्न छाडेको कुरा महत्वपूर्ण भएको बताइन् ।
निगमले पेट्रोल, डिजल र मट्टितेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा दुई सय रुपैयाँले बढाएको थियो ।
मूल्यवृद्धिसँगै एक लिटर पेट्रोलको १८० रुपैयाँ, मट्टितेल र डिजलको १६३ रुपैयाँ तथा प्रतिसिलिन्डर ग्याँसको मूल्य १८ सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया