बालेनले काठमाडौंको मेयरमा जितेपछि के भनिन् उनकी श्रीमतीले ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्रबाट बालेन शाह निर्वाचित भएपछि उनकी श्रीमती सविना काफ्लेले प्रतिक्रिया दिएकी छिन् ।
बालेन औपचारिक रुपमा मेयरमा निर्वाचित भएपछि सामाजिक संजालमा सविनाले ‘बालेन मेरोबाट हाम्रो भएको’ लेखेकी छिन् । यस्तो भन्दा आफ्नो मन अलिकति पनि नखुम्चिएको भन्दै बरु गर्वले छाती फुलेको र शिर उचालिएको बताएकी छिन् ।
‘तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिनरात नभनी तिमीले गरेको मेहननतको फल आज सबैसामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् ! घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ’ सविनाले लेखेकी छिन्, ‘चुनौतीहरू धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।’
घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार नहुने उनको भनाई छ । ‘म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।’ सविनाले लेखेकी छिन् ।
बालेनले स्वतन्त्रमा उम्मेदवारी दिएर काठमाडौंको मेयर जितेका हुन् । उनले कांग्रेस र एमालेको परम्परागत विरासतलाई तोड्दै स्वतन्त्रबाट जितेपछि अहिले चौतर्फी प्रशंसा बटुलेका हुन् । अब कसरी काम गर्छन् भन्ने विषयलाई निकै प्राथमिकतासाथ हेरिएको छ ।
विजयी भएपछि बालेनले काठमाडौंलाई उत्कृष्ट सहर बनाउन सबै क्षमता लगाउने पनि बताएका छन् ।
प्रतिक्रिया