NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९–८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबार तोकिएको थियो ।

आजको बैठकमा राष्ट्रियसभा सांसद मदनकुमारी शाहले समग्रमा नीति तथा कार्यक्रम आमरुपमा सकारात्मक रहेको बताउँदै सबै क्षेत्र निजी क्षेत्रलाई दिनेभन्दा पनि सार्वजनिक क्षेत्र सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइन् ।

उनले कैलालीको गेटामा रहेको मेडिकल कलेजको ९० प्रतिशत काम सम्पन्न भइसकेको सन्दर्भमा सञ्चालनका लागि नीति तथा कार्यक्रममा उल्लेख नभएकामा सुदूरपश्चिमवासी दुःखी भएकासमेत बताइन् ।

सांसद नारायणदत्त मिश्रले नीति तथा कार्यक्रममा पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत राम्रा कार्यक्रम रहेको उल्लेख गर्दै सरकारले किसानलाई अनुदानको व्यवस्था पर्याप्त गरेपनि खास किसानसम्म अनुदान नपुग्ने प्रवृत्तिमा सुधारको आवश्यकता औंल्याइ ।

उनले कैलालीको गेटामा निर्माण सम्पन्न हुने क्रममा रहेको मेडिकल कलेज यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउनसमेत माग गरे ।

सांसद सोनाम गेल्जेन शेर्पाले श्रमिकको सम्मान गर्न विशेष कार्यक्रम ल्याउन सुझाव दिँदै उनले नीति कार्यक्रममा विद्युत् उत्पादनमा जोड नदिएकोप्रति टिप्पणी गरे । नीति तथा कार्यक्रमले समतामूलक विकासको अवधारणालाई प्राथमिकतामा नराखेको उनको भनाइ छ ।

सांसद नरबहादुर विष्टले नीति तथा कार्यक्रमले मुख्य गरी कृषि र ऊर्जालाई जोड दिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा जोड दिए ।