NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एमालेकाे एकल प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमालेबाट एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व होओस् भनेर वामगठबन्धन हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी लिएको तथ्य पेश गर्दै उनले झण्डै दुईतिहाई जनमत प्राप्त भएको पार्टीलाई के कारणले बचाउन सकिएन भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘जसको सहयोगमा दुईदुई पटक प्रधानमन्त्री बन्यो, उसैलाई अर्काको वैशाखी टेकेको भनेर टिप्पणी गर्न कसरी सुहाउँछ । अघिल्लो सरकार एमालेको थियो भनेर कसरी भन्न सकिन्छ ।’

माओवादी केन्द्रको सहयोगमा नै केपी ओली दुईदुई पटक प्रधानमन्त्री बनेको तथ्य नबिर्सन आग्रह गर्दै अध्यक्ष दाहालले भने, ‘तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर नै दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको होइन ?’ प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उल्लेख गर्दै उनले आजको परिस्थिति कसले बनायो ? त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गरे ।

ओलीले जनयुद्ध र शान्ति प्रक्रियाबारे गरेको टिप्पणीकाे जवाफ दिँदै प्रचण्डले युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको बताए । उनले ओलीलाई ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’ भनेर गम्भीर प्रश्न गरेका छन् ।