NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भारतले खाद्यान्न निर्यातमा लगाएकाे राेकलाई अवसरका रुपमा लिनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र उकास्न एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्ने विश्वास व्यक्त गरे ।

राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिए ।

एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उनले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गरे ।

‘देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ’, पूर्वप्रधानमन्त्री दाहालले भने, ‘स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो ।

अध्यक्ष दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिए ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उनले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएका अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताए ।

‘नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि के कस्ता नीति बनाउनुपर्ने, के कस्तो मेहनत गर्नुपर्ने अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’