NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अग्रगमनसहित समाजवादी लक्ष्य हासिल गर्न वाम-लोकतान्त्रिक गठबन्धन निर्विकल्प : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको विकल्प नभएको बताएका छन् ।

१५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि संर्घषकै बलमा पराजित गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तो छ गणतन्त्र दिवसको अवसरमा प्रचण्डले जारी गरेको शुभकामना सन्देश :

शुभकामना
गणतन्त्र दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आजको दिन नेपाली जनताको सदियौं देखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो । १० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।

नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानमा हामीले संविधानसभाबाट संविधान निर्माण ग-यौं । संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि हामीले संर्घषकै बलमा पराजित गरेर यहाँसम्म आईपगेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली जनताको उत्साहजनक सहभागिता रह्यो । निर्वाचनमा जित हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं । गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।

देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो । नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएका हुन् ।तसर्थ, आजको दिन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन हार्दिक अपील गर्दछु ।

१५ जेठ, २०७९
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष