NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

बढ्यो हज यात्रा शुल्क, बुझाइसकेकाले पनि थप्नुपर्ने

काठमाडौं । सरकारले हज यात्रा शुल्क वृद्धि गरेको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सन् २०२२ को हज यात्राका लागि आवेदन संकलन गरिसकेको अवस्थामा बीचमै यसअघिको शुल्क पुनरवलोकन गर्दै नयाँ कायम गरेको हो ।

हज उपसमितिको जेठ १५ गते आइतबार बसेको बैठकले विभिन्न शीर्षकको शुल्क वृद्धि गरेको नेपाल हज समितिले जनाएको छ ।

खाना, घरभाडालगायत शीर्षकको यसअघिको शुल्क बढाएर ३ लाख ९५ हजार ५९२ पुर्याइएको छ । हवाई भाडा ६७ हजार ८०० तोकिएको छ ।

समितिका अनुसार साउदी अरब सरकारले मोअल्मिलगायतमा ७०७३, खानामा ११७३, घरभाडा ३४८० र विविध खर्च २०० गरी कुल ११९२६.२२ रियाल खर्च लाग्ने सूची पठाएको छ ।

खाना, घरभाडा, हवाईजहाजलगायतको शुल्क वृद्धि गरेर साउदी अरब सरकारले पठाएकाले साउदी रियालको जेठ १५ को दररेटअनुसार पुरानो शुल्क परिमार्जन गरिएको समितिको भनाइ छ ।

योसँगै हज यात्रामा जान प्रतिव्यक्ति ४ लाख ६३ हजार ३९२ रूपैयाँ खर्च लाग्ने भएको छ ।

सरकारले सन् २०२२ मा हज यात्राका लागि यसअघि नै आवेदन आह्वान गरिसकेको छ । केहीले शुल्क बुझाएर प्रक्रिया पूरा गरिसकेका छन् । त्यस्ता व्यक्तिले पनि वृद्धि शुल्क बुझाउनुपर्ने समितिले प्रष्ट पारेको छ । त्यसका लागि उनीहरूलाई जेठ २३ गतेसम्मको समय दिइएको छ ।

समितिका अनुसार, सन् २०२२ को हजयात्राका लागि शुल्क बुझाइसकेकाले राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंकमा रकम बुझाउन प्रबन्ध मिलाइएको छ ।

साउदी अरबस्थित हजलाई मुस्लिमहरूको पवित्र धार्मिकस्थल हो । त्यहाँ सरकारकै अग्रसरतामा कोटा छुट्याएर हरेक वर्ष नेपाली मुस्लिम धर्मालम्बीलाई तीर्थयात्रा गराउने गरिएको छ ।