उपचार अभावमा ६ वर्षदेखि खोरमा

१२ वैशाख ०७२ मा महाभूकम्प जाँदा उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुरका शिवराज विश्वकर्मा काठमाडौंमा थिए । ज्याला–मजदुरी गर्ने उनी भूकम्प आएसँगै अचानक बेपत्ता भए । एक सातासम्म पनि सम्पर्कमा नआएपछि परिवारले ‘ज्यान गयो होला’ भनेर माया नै मारे । प्रहरीमा भने निवेदन गरिसकेका थिए ।
केही दिनपछि प्रहरीले शिवराजलाई चितवनको जंगल क्षेत्रमा नांगै अवस्थामा भेट्यो । खबर पाएपछि परिवारका सदस्यले बुझेर घर लगे । शिवराजको मानसिक सन्तुलन केही गुमिसकेको थियो । आर्थिक रूपमा विपन्न परिवारले सुरुमा धामीझाँक्रीदेखि विराटनगरका क्लिनिकसम्म दौडाए, तर बेथा झन् चर्कियो ।
त्यसपछि परिवारले ऋण गरेर शिवराजलाई उपचारका लागि काठमाडौंको पाटनस्थित मानसिक अस्पतालमा लग्यो । ६ वर्षअघि त्यहाँको उपचारले उनमा सुधार आइरहेको थियो । तर, ऋण गरेर जुटाएको पैसाले धेरै दिन भरथेग गर्न सकिएन, राजधानीमा खान र बस्नै नसक्ने भएपछि शिवराजलाई गाउँ ल्याइयो ।
‘विराटनगरमा उपचार गर्दा नै थुप्रै खर्च लाग्यो, तर सञ्चो भएन । त्यसपछि ललितपुरको पाटन मानसिक अस्पतालमा यस्ता रोगीको उपचार हुन्छ भनेर लग्यौँ । त्यहाँ राम्रो सुधार भए पनि पूरै ठीक भएको थिएन । सहरमा बस्न–खानको खर्च धान्नै मुस्किल पर्यो । आर्थिक संकट परेपछि घर ल्यायौँ,’ आमा सुमित्रा विश्वकर्माले भनिन् ।
छोरालाई निको हुँदै जाला भन्ने आशा सुमित्रालाई थियो । तर, अस्पतालबाट घर फर्काएपछि शिवराजको स्थिति झन् खराब हुँदै गयो । चिकित्सकले भनेअनुसार परिवारले औषधि किनेर खुवाउन पनि सकेन । शिवराजको उपचारकै कारण ऋणमा डुबिसकेको परिवारले पैसाका लागि हात थाप्ने ठाउँ भएन । स्थानीय सरकारलाई गुहारे, तर पीडा कसैले सुनिदिएन । शिवराज घरका सदस्यलाई नै मारपिट गर्ने हालतमा पुगे । परिवारले अब कठोर र निर्मम विकल्प रोज्यो– खोर बनाएर थुन्ने । घरभन्दा १० मिटरको दूरीमा बलिया काठको बार लगाएर बनाएको खोरमा थुनिएको छ शिवराजलाई ।
‘सहयोग जुट्ने ठाउँ भएन, उपचार गर्ने उपाय रहेन । आफ्नै छोरालाई पशुझैँ थुन्ने खोर बनाउन बाध्य भयौँ । ५–६ वर्षदेखि छोरो खोरभित्र छ । रातभर लामखुट्टेले टोक्छ । सर्पको पनि डर छ । राति पनि कराउँछ, बर्बराउँछ । केही भयो कि भनेर कुदेर हेर्न पुग्छु । हेर्दाहेर्दै कहिलेकाहीँ मन भक्कानिएर आउँछ । घप्लक्क अँगालो हानेर छातीमा टाँस्न मन लाग्छ । तर, के गर्नु, नजिक गयो भने आक्रमणबाट जोगिन गाह्रो हुन्छ । बिग्रिएको दिमागको उपचार गर्न नसकेर छोराको यो अवस्था भयो,’ बोल्दाबोल्दै उनी टोलाइन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया