NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

गठबन्धन भत्किने त्रासमा रहेका देउवा कात्तिकमै चुनाव गर्ने पक्षमा

काठमाडौं । स्थानीय चुनावबाट उत्साहित सत्तागठबन्धन संसदीय चुनावको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा छन् यद्यपि, कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार नगर्न सुझाव दिएका छन् ।

संसदको चुनाव पाँच वर्षअघि १० र २१ मंसिरमा भएको थियो भने आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागुन मात्र दिएको थियो । सांसदहरूले फागुन २० मा मात्र शपथ लिएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा कांग्रेसकै नेताहरू एकमत छैनन् ।

कतिपय नेताहरू फागुनमा मात्र चुनाव गराउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भने यथासक्य छिटो गर्ने पक्षमा छन् ।

स्थानीय तह निर्वाचनमा टिकट वितरणमा अन्याय भएको भन्द्र स्थानीय नेताहरू आक्रोसित भएकाले तत्कालै निर्वाचनमा गए अन्तर्घात हुने भन्दै कांग्रेस नेताहरू सजग छन् । ‘कुलिङ पिरियड’ राखेर फागुनमा चुनावमा जानु उपयुक्त हुने उनीहरूको सुझाव छ ।

कांग्रेस नेता पौडेलले पार्टीभित्रका केही नेताहरू फागुनमा मात्र चुनाव गराउन इच्छुक भए पनि औपचारिक बैठकमा कसैले त्यस्तो प्रस्ताव नराखेको बताए ।

‘गठबन्धन कात्तिक र मंसिरमै चुनाव गराउन तयार छ । तर यसमा प्रधानमन्त्रीको भूमिका प्रमुख हुन्छ,’ नेता पौडेलले भने ।

वर्तमान गठबन्धन भत्काउने र फेरि वाम गठबन्धन बनाउने विषयमा भित्रभित्रै छलफल सुरु भएको सूचना पाएकाले प्रधानमन्त्री देउवा छिटो चुनावको पक्षमा देखिएको कांग्रेसकै नेताहरूको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।