NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जनप्रतिनिधिलाई आजबाट माओवादीको प्रशिक्षण

काठमाडौं । स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले आजबाट प्रशिक्षण दिने भएको छ ।

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने उद्देश्यले माओवादी केन्द्रले आजबाट दुई दिन पार्टीनिकट जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।

कमलपोखरीस्थित पुरानो कुमारी हलमा हुने प्रशिक्षणको बुधबार बिहान ११ बजे सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रशिक्षणमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत २६० जनप्रतिनिधि सहभागी हुनेछन् ।

उनीहरूलाई स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा प्रशिक्षित गरिने जनाइएको छ ।

प्रशिक्षण पार्टीका शीर्ष नेता, सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले दिने बताइएको छ ।

स्थानीय तहको अघिल्लो कार्यकालमा अब्बल कार्यसम्पादन गरेका जनप्रतिनिधिले अनुभव आदानप्रदान गर्ने कार्यक्रम पनि छ ।

२०७४ मा निर्वाचित जनप्रतिनिधिलाई पनि प्रशिक्षण दिएको माओवादीले यसपटकको कार्यक्रम अलि व्यवस्थित हुने जनाएको छ ।