NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यसकारण मंसिरमै चुनाव गर्न चाहन्छन् देउवा

काठमाडौं । स्थानीय तहको निर्वाचन भएपछि अब संघीय संसद् र प्रदेशको चुनावको तयारीमा होमिने रणनीति प्रधानमन्त्री शेरबहादुर देउवाले बनाएका छन् । सत्ता गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल पार्टीसँगै मिलेर कांग्रेसले स्थानीय तहको निर्वाचन लड्यो । जुन निर्वाचनबाट कांग्रेसले उल्लेख्य सफलता हात पारेपछि प्रधानमन्त्री देउवा बाँकी दुई चुनाव गराउन हतारिएका हुन् ।

देशभरका पालिकामा प्रतिस्पर्धी एमालेकोभन्दा १२४ तह बढीमा निर्वाचित भएपछि कांग्रेस थप हौसिएको हो । आफू सभापति भएपछि स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाएको र अर्को चुनावमा पनि कांग्रेसलाई जिताएर दोस्रो कार्यकाललाई देउवा सौहाद्र्र बनाउन चाहन्छन् । राष्ट्रपति, उपराष्ट्रपति र मुख्य मन्त्रालयमा भागबण्डा गरेर फेरि पनि एकपटक प्रधानमन्त्री बन्ने चाहना देउवाले राखेका छन् । यसैले उनी चुनावका लागि हताराेमा देखिन्छन् ।

गठबन्धन दलबीच सत्ता सहकार्य जारी रहेको, ताजा चुनावी परिणाम आफ्नो पक्षमा आएको, गठबन्धन दलबीच विश्वासको वातावरण राम्रो रहेको बेलामा छिटो चुनाव गराउँदा यसको फाइदा आफैंलाई हुने भएकोले देउवा चुनावी तयारीमा हतारिएका हुन् ।

एमालेले फेरि वाम गठबन्धन बनाउन प्रयास गर्ने रणनीति देउवाले बुझिसकेका छन् । यसैले एमाले र माओवादीलाई मिल्न दिंदा फेरि कांग्रेसलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न कठिनाइ हुने बुझाई देउवाको छ

पछिल्लो सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमासमेत आगामी चुनावबारे अनौपचारिक छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री देउवाले सकेसम्म छिटो चुनाव गर्नुपर्ने मनसाय व्यक्त गरेका छन् । गठबन्धनका पक्षमा कांग्रेस, माओवादी, नेकपा एस र जसपाबीच दुरी नबढ्दै चुनावमा जान सकिए फेरि पनि एमालेलाई रोक्न सकिने विश्लेषण देउवाले निकालेका छन् । यसैले वर्षायाम सकिएर आउँने दशै, तिहार र छठजस्ता चाडबाडलगत्तै चुनाव गराउने गरी देउवाले अनौपचारिक रुपमा छलफल गराएका हुन् ।

‘स्थानीय तहको निर्वाचनपछि झन् सत्ता गठबन्धन प्रष्ट भएर अगाडि मोटामोटी समझदारी भइसकेको छ । बाँकी कुरा आपसमा सहमति र समन्वय गरेर जाने भन्ने छ’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेपालवाचसँग भने, ‘चुनावबारे औपचारिक कुराकानी थालनी भएको छैन । तर मंसिरमा नै गर्ने गरी प्रक्रिया अघि बढ्छ ।’

नेता महतले मंसिरमा चुनाव गर्नुका पछाडि संवैधानिक व्यवस्था र मौसमका कारण पनि उचित हुने बताए ।

‘पहिले पनि मंसिरमा नै चुनाव भएको थियो । यसैलै संवैधानिक अभ्यास अनुसार संस्थागत अभ्यासलाई निरन्तरता दिन पनि मंसिरमा नै चुनाव हुनु उपयुक्त हुन्छ’ महत भन्छन्, ‘वर्षायामपछिका चाडबाडलगत्तैको मंसिरमा चुनाव गर्नु मौसमका हिसाबले पनि सहज हुने भएकोले सरकारले मंसिरमा नै चुनाव गराउँछ ।’

मंसिरमा चुनाव गराउने विषयमा कांग्रेसभित्र कुनै विमति भने छैन । नेता रामचन्द्र पौडेलले खुलेर देउवालाई साथ दिएका छन् । शेखर कोइराला पक्ष पनि छिटो चुनाव गराउने विपक्षमा उभिने अवस्था देखिएको छैन ।

कित हतार गर्दैछन् देउवा ?

कांग्रेसभित्रै एकथरीले चुनाव फागुनसम्म गर्न सकिने विषय पनि उठाएका छन् । तर देउवा सकेसम्म छिटो चुनाव गराउने पक्षमा छन् । किनकी अघिल्लोपटक माओवादी एमालेसँग मिल्न पुग्दा कांग्रेस २३ सिटमा खुम्चनुपरेको जस्तै इतिहास दोहोर्याउने पक्षमा देउवा छैनन् । सत्ता गठबन्धनमा माओवादीसहितका दलबीच विश्वास बनिरहँदा चुनाव गराउँदा सबै हिसाबले फाइदा हुने बुझाई देउवाको छ । अहिलेको गठबन्धनबीच सहमति कायम गरेर चुनावमा जाँदा कांग्रेस फेरि पहिलो दल बन्नेमा देउवा ढुक्क छन् । यसैले गठबन्धनका दललाई भड्किन दिनेमा देउवा छैनन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले महानगर गुमाउने, आफ्नो गढ पनि भत्किने भएपछि फेरि वाम गठबन्धन बनाउन प्रयास गर्ने रणनीति देउवाले बुझिसकेका छन् । यसैले एमाले र माओवादीलाई मिल्न दिंदा फेरि कांग्रेसलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न कठिनाइ हुने बुझाई देउवाको छ । यसैले एमालेले गठबन्धन तोड्न लगाउने प्रयास अघि नै चुनाव घोषणा गरेर अघि बढिहाल्ने मनस्थिति देउवाले बनाएको बुझिन्छ ।

प्रधानमन्त्रीको छिटो चुनाव गराउने चाहनामा माओवादी पनि तयार छ । तर स्थानीय तहको चुनावबाट आफूलाई बलियो तेस्रो शक्तिको रुपमा उभ्याएपछि माओवादीले देउवासँग बार्गेनिङ पावर निक्कै बढाएको छ

एमालेका नेताहरूले माओवादी र नेकपा एसलाई मिलाएर वाम गठबन्धन बनाउने प्रयास नभएको जिकिर गर्ने गरेका छन् । तर सत्ता गठबन्धन नफुटाए आगामी चुनाव आफूहरूका लागि निक्कै कठिन हुने आन्तरिक हिसाब भने निकालिसकेका छन् । यस्तोमा गठबन्धन दलमा अविश्वास बढाएर आफूतिरै ल्याउने र गठबन्धन गर्नेसम्मको रणनीतिमा एमाले लागिसकेको बुझिएको छ । यही रणनीतिलाई चिर्न पनि देउवाले सकेसम्म छिट्टै चुनाव घोषणा गरेर जाने नीति लिएका हुन् ।

स्थानीय तहको नतिजाबाट को खुशी को दुःखी ?

७५३ तहको नतिजामा कांग्रेसले ३२९ तह जित्दा प्रतिस्पर्धी एमालेले २०५ तह जित्यो । माओवादीले १२१ तहको नेतृत्व जितेर आफू कमजोर नरहेको देखायो । सँगै कांग्रेस र एमालेको मुख्य प्रतिस्पर्धामा आफू निर्णायक दल रहेको देखायो । तर ६ महानगरमा एमाले शून्य भयो । केही उपमहानगरपालिकाको नेतृत्व एमालेले जित्यो । तर आफ्ना परम्परागत बलिया पकड रहेका क्षेत्र गुमाएपछि एक्लै चुनाव लड्दा फेरि पछारिने बुझाई एमालेको छ । यसैले माओवादी, नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपालाई मिल्न नदिने दाउ एमालेलेले हेरेको छ ।

स्थानीय तहमा जसपाले ३० र नेकपा एसले २० सिट जितेका छन् । तर केही महत्वपूर्ण ठाउँ गुमाउनुको कारण यी दुई दलले कांग्रेस र माओवादीलाई थोपरेका छन् । तराई मधेसकेन्द्रित लोसपाले १६ सिट जितेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनावी नतिजापछि लोसपासँग मिल्न सक्ने सम्भावना धेरै रहेको बताइसकेका छन् । जसपा र एस आफ्नो पक्षमा नआए तेस्रो शक्ति माओवादीलाई कुनै हालतमा पनि गठबन्धनबाट उम्किन दिन नहुनेमा देउवा सचेत देखिएका छन् ।

प्रधानमन्त्रीको छिटो चुनाव गराउने चाहनामा माओवादी अध्यक्ष प्रचण्ड पनि तयार छन् । तर स्थानीय तहको चुनावबाट आफूलाई बलियो तेस्रो शक्तिको रुपमा उभ्याएपछि माओवादीले देउवासँग बार्गेनिङ पावर निक्कै बढाएको छ । चुनावपछिको राष्ट्रपति र प्रधानमन्त्रीमा भागबण्डा, केही प्रदेश सरकारका दाबेदारी, सिटमा राम्रो हिस्सा खोज्ने प्रयासमा माओवादी हुनेछ ।

चुनावी नतिजाबाट कांग्रेस र माओवादी उत्साही छन् । तर जसपा र नेकपा एसले धेरै उत्साही छैनन् । गठबन्धन बने पनि काठमाडौं, विराटगनर, इटहरी र बुटवलसहितका ठाउँमा कांग्रेसले आफूहरूलाई धोका दिएको बुझाई जसपा र एसको छ । कांग्रेसका मेयर जित्ने र आफूहरूका उम्मेदवार पराजित हुने भएपछि यी दुई दलले गठबन्धनको भरोसामा प्रश्न उठाएका छन् । यद्यपी गठबन्धनकै बलमा वीरगञ्जमा जसपा र पोखरामा नेकपा एसले जितेको भन्दै मनाउने प्रयासमा देउवा लागेका छन् ।

तर जसपा र एसले यस्तै हालतमा आगामी निर्वाचन जाँदा फेरि धोका हुन सक्ने प्रश्न उठाएका छन् । यस्तोमा भरपर्दो आवश्वासन र विश्वासको वातवारण नबन्दासम्म अहिलेको गठबन्धनलाई निशर्त समर्थन गरेर जाने पक्षमा यी दुई दल नभएको बताइन्छ । देउवाले कुनै हालतमा गठबन्धन दल फुट्न नदिने नीति लिंदा आगामी चुनावमा संघमा राम्रो भागबण्डा, प्रदेशको चुनावमा मुख्यमन्त्रीसहितमा भाग सुनिश्चितताको पक्षमा माओवादी, नेकपा एस र समाजवादी छन् । देउवा भागबण्डाको लागि तयार नभए गठबन्धन टुटाउन कुरेको एमाले विकल्प भएको जनाउ यी दलले देउवालाई दिइसकेका छन् ।

तर देउवाले गठबन्धनलाई अर्को चुनावसम्म लाने रणनीति अनुसार नै ६ महानगरपालिकामध्ये तीनवटा कांग्रेसलाई र माओवादी, नेकपा एस, जसपालाई एकएकवटाको भागबण्डा गरेका थिए । कांग्रेसले ललितपुर र विराटनगर जित्दा पोखरा एसल र वीरगञ्ज जसपाले जितेका थिए । काठमाडौंमा बरु कांग्रेसकी सिर्जना सिंह पराजित हुन पुगिन् । गठबन्धन जाेगाउन भागबण्डामा राम्रा हिस्सा दिन देउवा तयार छन् । तर पार्टीभित्र याे विषयमा सहजै सहमति जुट्न गाह्राे छ ।

बजेटमा चुनावी प्राथमिकता

देउवा नेतृत्वको सरकार चुनावी हो । यसैले बजेट बनाउँदा यसपटक तलब बढाउनेदेखि लोकप्रिय कार्यक्रम राखिएका छन् । कर्मचारीको तलब १५ प्रतिशत बढाउने, वृद्धभत्ता ६८ वर्षमा पाइने, सुत्केरी भत्ता दिने, आयकरमा छुट, प्रत्येक घरपरिवारलाई इलेक्ट्रिक चुल्लो दिनेसहितका लोकप्रिय कार्यक्रम बजेटले समेटेको छ । बजेटका यिनै केही आकर्षक कार्यक्रमलाई देखाएर पनि छिटो चुनाव गराउन सक्दा आफूहरूलाई पनि फाइदा पुग्ने विश्वास प्रधानमन्त्रीको छ ।