NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

बालबालिकाका लागि कोभिडविरुद्धको खोप २५ जेठमा आइपुग्ने

काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका नेपाली बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् । यी उमेरका बालबालिकाका लागि फाइजरले बनाएको ‘पेडियाट्रिक’ खोप पहिलोपटक २५ जेठमा आउँदै छ ।

कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज खोप निःशुल्क पाउने निश्चित भएकामा पहिलो चरणअन्तर्गत २५ जेठमा २० लाख मात्रा आउने स्वास्थ्य सेवा विभाग स्रोतले जनायो । स्वास्थ्यका अधिकारीहरूका अनुसार दुई चरणमा खोप दिने र पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । यस अवधिमा पहिलो मात्रा लगाएकाहरूले दोस्रो मात्रा २ देखि ८ साउनसम्म पाउनेछन् । त्यस्तै, बाँकी ५० जिल्लामा पहिलो मात्रा ५ देखि ११ भदौसम्म सञ्चालन हुनेछ । उनीहरूले दोस्रो मात्रा २७ भदौदेखि १ असोजसम्म पाउनेछन् ।

सरकारले ‘फाइजर पेडियाट्रिक’ खोप सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेको छ । स्वास्थ्यकर्मीहरूलाई तालिमसमेत दिइसकेको छ । फाइजर कम्पनीका अनुसार यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा ०.३ एमएलका दरले दुई डोज लगाइएको थियो ।

नेपालले खोपमा राम्रो प्रगति गरेपछि कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि निःशुल्क प्राप्त भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनी बताउँछन् । नेपालले ११ वर्षमाथिका लक्षित संख्याको ९६ प्रतिशतलाई पहिलो मात्रा र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाएको छ ।

यो खोप निःशुल्क पाउने नेपाल पहिलो देश हो । यसअघि सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन साढे ६ अर्ब बजेट विनियोजन गरेको थियो । कोभ्याक्स सुविधामै आवश्यक खोप पाउने निश्चित भएपछि उक्त रकम जोगिएको छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।