NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माधव नेपालको पार्टीका मन्त्रीको थमौतीपछि के भन्छ बालुवाटार ?

काठमाडौं । निक्कै हल्लीखल्लीका बीच नेकपा एकीकृत समाजवादीका चार मन्त्री हट्ने र चार नयाँ बन्ने तयारी तत्काललाई रोकिएको छ ।

आइतबार नै नेकपा एसले चारजनालाई फिर्ता बोलाएर चार जनालाई मन्त्री बनाउने भन्दै सोमबार बिहान सपथ हुने दाबी गरेको थियो । तर प्रधानमन्त्री निवास बालुवाटार स्रोतले मन्त्रीका लागि औपचारिक सूची नै नआएको दाबी गरेको छ ।

‘सोमबार सपथग्रहण हुनेसम्मको हल्ला फैलियो तर बालुवाटारमा मन्त्री फेरबदलको औपचारिक विषय प्रवेश नै भएको थिएन’ बालुवाटार स्रोतले भन्यो, ‘विषय औपचारिकतामा प्रवेश नै नगरेकोले तत्काल मन्त्रीहरू फेरिने विषय रोकिएको छ ।’

किन हच्किए देउवा ?

प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेकै सत्ता गठबन्धनलाई सँगै लिएर आगामी निर्वाचनसम्म जाने तयारीमा छन् । संसदमा बजेटमाथि छलफल चलिरहँदाको अवस्थामा मन्त्री फेरबदल गर्ने जोखिमपछि असन्तुष्टिले गठबन्धनमा खटपट आउने, बजेट नै पास हुन नसक्ने जस्ता परिस्थितिको आकलनपछि देउवा रोकिएका हुन् ।

यद्यपी उनले नेकपा एसका अध्यक्षसँग यस अघि नै मन्त्री फेर्न आफूलाई आपत्ति नहुने बताएका थिए । यही आश्वासनले नेपालले चार जना मन्त्री फेरेर चार नयाँलाई अवसर दिन खोजेका थिए ।

तर पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमार झाँक्रीले प्रधानमन्त्री देउवादेखि अध्यक्ष नेपालसम्मै दबाब बढाएका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई समेत भेटेर आफूहरूको थमौती गरिदिन उनीहरूले आग्रह गरेका थिए । यीमध्ये पनि आले र श्रेष्ठ यस अघि केपी ओली निकट हुँदै नेपालको पार्टीमा आएका थिए ।

उनीहरूको असन्तुष्टिकाबीच मन्त्री फेरबदल भए एमाले अध्यक्ष केपी ओलीले पनि थप खेल्न सक्ने जोखिमलाई हेर्दै सत्तारुढ दलले तत्काललाई मन्त्रिपरिषद् विस्तार रोकिदिएका हुन् ।

सोमबार बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकमा तत्कालै मन्त्री फेर्दाको जोखिमबारे कुराकानी भएको थियो । मन्त्री फेर्दा जनता समाजवादीमा पनि असन्तुष्टि बढ्ने, नेकपा एसकै सांसदले पनि अप्ठ्यारो पार्ने भएपछि तत्काल थमौती गरी पछि निर्णयमा पुग्ने समझदारी बनेको हो ।

‘माधव नेपालको पार्टीमा मन्त्री फेर्ने विषय पहिलेकै सहमति रहेछ । तर बजेटमा छलफल चलिरहेको बेला कतिपय विषयमा मन्त्रीले जवाफ पनि दिनुपर्ने अवस्था छ । बजेट पास पनि गर्नुपर्ने बेला छ’ बालुवाटार स्रोतले भन्यो, ‘तत्काल नगरे पनि विस्तारै मन्त्रीहरू हेरफेर हुन सक्छन् ।’

नेकपा एसबाट मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ र हीराचन्द्र केसीको मन्त्री बन्ने तयारी थियो । तर तत्काललाई भने यो विषय रोकिएको छ ।

तर नेकपा एसका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले जसपाका कारण मन्त्री हेरफेरमा ढिलाई भएको दाबी गरे ।

‘हामीले आज सपथ लिने भन्ने कार्यक्रम थियो तर जसपाले पनि मन्त्री पठाउने भनेपछि एकैपटक सपथ लिने भन्ने भयो’, चौधरीले भने, ‘त्यही भएर आज सपथ कार्यक्रम रोकियो । जसपाले मन्त्रीको नाम आज पठाए मंगलबार सपथ हुनेछ ।’

एकीकृत समाजवादीको अपरिपक्व निर्णयले तत्काल मन्त्रिपरिषद् पुनर्गठन रोकियो