NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका उपाध्याय निलम्बनमा

काठमाडौं । निर्वाचित भएलगत्तै माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष निलम्बनमा परेका छन् । यस अघि कैलालीको मोहन्याल गाउँपालिका २ को वडाध्यक्ष रहेका देवीदत्त उपाध्याय भ्रष्टाचारको मुद्दा किनारा नलाग्दै यसपटक अध्यक्षमा निर्वाचित भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको हो ।

अख्तियारले विचाराधीन मुद्दा भएकोले जनप्रतिनिधि चुनिए पनि स्वतः निलम्बन हुने व्यवस्था रहेको भन्दै निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको हो । उपाध्याय एमालेका धरमबहादुर थापालाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा विशेष अदालतमा मुद्दा विचाराधीन रहेको अख्तियारले जनाएको छ ।

उनीबाहेक अन्य तीन वडाध्यक्षको पद पनि निलम्बनमा परेको छ । मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी पनि निलम्बनमा परेका हुन् । उनीमाथि पनि अघिल्लोपटक अध्यक्ष हुँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा विचाराधीन छ । गिरी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावललाई शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको मुद्दा परेको थियो । यो मुद्दा विचाराधीन रहेको अख्तियारको भनाई छ । रावल कांग्रेसबाट विजयी भएका थिए ।

प्रधानाध्यापक हुँदा विद्यालयको सम्पत्ति हिनामिना गरेको भन्दै नुवाकोट विदुर नगरपालिका ९का वडाध्यक्ष हरिराम भण्डारी पनि निलम्बनमा परेका छन् । उनीविरुद्ध सुलक्षण माविको प्रध्यानाध्यापक बन्दा आर्थिक सम्पत्ति हिनामिनाको आरोप छ । भण्डारी पनि माओवादीकै हुन् ।