NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

छिमेकमा शरण लिइरहेका पाँच हजार अफगानी शरणार्थी घर फिर्ता

काठमाडौं (एजेन्सी) । अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् ।

स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरु अफगानिस्तानको पश्चिमी निम्रोज र छिमेकी हेरात प्रान्त हुने आ आफ्नो घर तर्फ लागेका हुन् ।

त्यसैगरी पाकिस्तानबाट भने १७३ जना मात्रै स्वदेश फर्किएको मन्त्रालयको दावी छ । उनीहरु अफगानिस्तानको कान्दहर प्रान्तबाट स्वदेश भित्रिएका हुन् ।

मन्त्रालयले वक्तव्य जारी गर्दै उनीहरूको मात्रै विवरण रहेको र विवरणमा समावेश नभएका तर स्वदेश फर्किएका अरु धेरै हुनसक्ने जनाएको छ ।

अन्य विभिन्न देशबाट समेत गरी अफगानिस्तानमा अहिलेसम्म सात लाख ४० हजार शरणार्थी स्वदेश फर्किसकेको दाबी गरिएको छ । ‘यो तथ्याङ्क सन् २०२१ को अगस्ट देखिको हो,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानिस्तानमा लामो समयदेखि भएको द्वन्द्वका कारण दशौँ लाख मानिस विस्थापित भएको वा शरणार्थी भएकोमा केही मात्रै फर्किएका हुन् । अरु धेरै फर्किन बाँकी नै छन् । फर्किन बाँकी मध्ये अधिकांशले स्वदेश फर्किन चाहेको बताउने गरेका छन् । उनीहरूले अझै पनि स्वदेश फर्किने वातावरण बनिनसकेको दाबी गर्दै फर्किने प्रतीक्षामा रहेको जानकारी दिएका छन् ।