बालकको हत्या गरेको आरोपमा गाई पक्राउ

काठमाडौं । अफ्रिकी देश दक्षिण सुडानको प्रहरीले एउटा गाईलाई पक्राउ गरेको छ । यो गाईले १२ वर्षीय बालकको निर्ममतापूर्वक हत्या गरेको आरोप छ ।
दक्षिण सुडानमा प्रहरीले ‘अनुसन्धानपछि गाईमाथि लगाइएको आरोप वास्तविक भएको पुष्टि भएमा लामो समय जेलमा बस्नुपर्ने बताएको छ ।
गाईसँगै यसको मालिक पनि पक्राउ परेका छन् । यो देशमा यसअघि पनि जनावरलाई यस्तो सजाय दिइएको थियो ।
प्रहरी प्रवक्ता मेजर एलिजा माबोरोका अनुसार गाईले फार्मनजिकै १२ वर्षीय बालकलाई कुल्चिएको थियो ।
गाईले कुल्चिँदा घाइते भएका बालकको मृत्यु भयो । त्यसपछि प्रहरीले गाईलाई पक्राउ गरेको हो । उनलाई प्रहरी चौकीमा निगरानीमा राखिएको छ । अहिले गाईमाथि लागेको आरोपको छानबिन भइरहेको छ ।
सुडानको कानुनअनुसार दोषी पाइएमा गाईलाई कडा परिश्रमको सजाय दिइनेछ । उसको दूध जेलका सिपाहीले खाने छन् । प्रहरीले गाईलाई पक्राउ गरेर आफ्नो कर्तव्य पूरा गरेको बताएको छ ।
दक्षिण सुडानमा विगतमा पनि जनावरहरू पक्राउ परेका छन् । केही दिन अघि एक महिलाको हत्या गरेको आरोपमा भेडा फेला परेको थियो । त्यसपछि भेडालाई ३ वर्षको जेल सजाय सुनाइएको थियो । भेडाले त्यहाँ सैन्य शिविरको काम पनि गर्नेछ ।
यसबारे पशु अधिकारकर्मीहरूले प्रश्न गरेपछि प्रहरीले औपचारिक विज्ञप्ति जारी गर्दै, ‘यस घटनामा भेडाको मालिकको कुनै गल्ती छैन, पूरै दोष जनावरको छ र हामीले अनुसन्धानमा भेडाले जानाजानी महिलाको हत्या गरेको पाइएको’ बताएको छ ।
प्रतिक्रिया