NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

वैशाखसम्ममा १८८ अर्ब २२ करोड रूपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड(सेबनले) चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनासम्ममा कुल १८८ अर्ब २२ करोड बराबरको थप धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति दिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार ५४ अर्ब ५० करोड रूपैयाँ बराबरको विकास ऋणपत्र, ४९ अर्ब ३४ करोड बराबरको बोनस सेयर, ४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, २२ अर्ब ७ करोड बराबरको साधारण शेयर, ९ अर्ब ४० करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी सो रकम  बराबरको धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति दिएको हो ।

२०७८ वैशाख मसान्तमा २६८४.१ रहेको नेप्से सूचकाङ्क चालु आवको वैशाख मसान्तमा २३५०.४ पुगेको छ ।  बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड पुगेको छ । २०७८ बैशाख मसान्तमा बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड रहेको थियो ।

चालु आवको बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४८ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेप्सेमा  वैशाखसम्ममा सूचीकृत ६ अर्ब ७१ करोड शेयरको चुक्ता मूल्य रु. ६६२ अर्ब १० करोड रहेको छ ।