NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

काठमाडौंको फोहोर व्यवस्थापनका लागि गगनका ६ टिप्स

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिँदै आएको समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने औंल्याएका छन् । सिसडोलबासी र बञ्चरेडाँडाका स्थानीयको बारम्बारको अवरोधले फोहोर व्यवस्थापन पेचिलो बनिरहेकाले त्यसो हुन नदिन काठमाडौं महानगरपालिकालाई संघीय सरकार, स्थानीय सरकारलगायत सबै पक्षले साथ दिनुपर्ने उनको भनाइ छ । थापाले फोहोर व्यवस्थापनमा  शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खेलेको भूमिकाको प्रशंसा गर्दै यसको दीर्घकालीन समाधान निम्ति ६ उपाय सुझाएका छन् ।

सिसडोलबासी र बञ्चरेडाँडाका स्थानीयबीच गरिएका सम्झौताको अवज्ञाले समस्या आइरहेकाले त्यसलाई निर्धारित समयसीमाभित्रै अक्षरशः पालना गर्न गगनको सुझाव छ ।

१७ वर्षअघि दुई वर्षका लागि भनेर काठमाडौं उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएकोमा अहिलेसम्म त्यसैको प्रयोग हुँदै आएको छ । योबीचमा त्यहाँका स्थानीयसँग सरकारले १७५ पटक विभिन्नखाले सम्झौता गरेको छ । तर अधिकांश अझैसम्म कार्यान्वयनमा गएका छैनन ।

समस्या समाधान तथा सम्झौता कार्यान्वयनमा शहरी विकास मन्त्रालयको भूमिका सबैभन्दा बढी भए पनि यससँग जोडिएर आउने अन्य मन्त्रालय पनि उसैगरी जिम्मेवार हुनुपर्ने थापाको सुझाव छ । जग्गाको मुआब्जा वितरण, क्षतिपूर्तिलगायतका काम थाती रहेकाले यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै अग्रसरता लिनुपर्ने थापाको ठम्याइ छ ।

काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समितिले समस्या नै नआउने गरी काम गर्नुपर्ने सुझाव थापाको छ । फोहोरको समस्या समाधानका लागि संघीय सरकारले निश्चित समयभित्र गर्न प्रतिबद्धता जनाएको कामको अनुगमन र सहजीकरणका लागि काठमाडौं,धादिङ र नुवाकोटका सांसद सम्मिलित समिति प्रस्ताव गरिएको छ ।

थापाले फोहोर पठाउने अन्य स्थानीय तहलाई काठमाडौं महानगरपालिकासँग समन्वय गरेर काम गर्न तथा महानगरवासीलाई कुहिने/नकुहिने वर्गीकरण गरी फोहोर छुट्याएर सहयोग गर्न आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही दिनअघि फोहोरको वर्गीकरण नगरे उठाउन नसक्ने बताइसकेका छन् ।

यस्तो छ थापाले फोहोर व्यवस्थापनका लागि दिएका ६ टिप्स

काठमाडौंबाट फोहोर उठ्न थालेको छ। यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ।अब फेरि फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ।

१. शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल (बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५ औं सम्झौता हो। हरेक पटक सङ्कट परेपछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ।यो स्वाभाविक संशयलाई यो पटक सम्झौता अक्षरशः र भनेकै समय सीमाभित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ।

२.यसको लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालयको निरन्तर तदारुकता जरुरी छ। सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ। ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ। कानुनबमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।

३.। संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए–नभएको अनुगमन गर्नेछौँ । कहीँ अप्ठ्यारो परेमा सहजीकरण गर्नेछौं । काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउनेछौं। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नुपर्नेछ।

४. काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ। कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले का.म.न.पालाई सम्पूर्ण साथ दिनुपर्छ।

५. फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि का.म.न.पा.सँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ।

६. कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ। सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिनाभरि आफ्नो वडाभित्र नगरवासीलाई सु–सूचित गर्नेलगायत सम्पूर्ण तयारी गर्नुपर्छ।

यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ–आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरि १७६ औंपटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन। काठमाडौ फोहोरको संकटबाट मुक्त हुन्छ।