NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रदेश र संघको चुनाव एकै चरणमा, यी चारमध्ये एउटा दिन तोकिने

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न हुन नपाउँदै सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीमा जुटेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नहुँदै सरकार र आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारी अघि बढाएका हुन् । मंसिरभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न संविधानले बाध्यकारी बनाएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दुई चरणमा गर्ने रणनीति अनुसार छलफल अघि बढाएको थियो । सुरक्षा व्यवस्थालाई मुख्य चुनौती देखाउँदै सरकारले दुई चरणको निर्वाचन प्रस्ताव गरेर तयारी पनि अघि बढाउँदै आएको छ ।

स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा झडप र केही स्थानमा बुथकब्जाका घटना भएका थिए । यस्तै मतपेटिका जोगाउन समेत सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको थियो । त्यही कारण सुरक्षाको दृष्टिकोणले दुई चरणको निर्वाचन उपयुक्त हुने आयोगसँगको छलफलमा अघि बढाएको थियो ।

तर आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिने जनाएको छ । दुई चरणको निर्वाचनमा जाँदा धाँधली हुन सक्ने भन्दै आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाएको निर्वाचन आयोगका एक पदाधिकारीले नेपालवाचलाई जानकारी दिए ।
आयोगका पदाधिकारीकाअनुसार कार्तिक २७, २८, २९ र ३० मध्ये एक दिन निर्वाचनको मिति तोक्न आग्रह गरेको छ ।
आयोगले पनि त्यसैअनुसारको तयारी गरेको छ ।

‘आयोग निर्वाचनका लागि तयारी अवस्थामा छौँ, नेपालवाचसँगको कुराकानीमा उनले भने,  ‘चार दिन अर्थात् कात्तिक २७, २८, २९ र ३० काे मितिका विषयमा छलफल भइरहेकाे छ ।  कार्तिक २७ गते देशभर एकै साथ निर्वाचन सम्पन्न हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

यस अघि कात्तिक २७ र मंसिर ३ गते दुई चरणमा संघीय संसद् र प्रदेशसभा सदस्यको लागि चुनाव गर्नेमा सरकार र आयोगबीच छलफल भएको थियो । तर मिति घोषणा भइसकेको थिएन । आयोगले एकै चरणमा गर्न सकिने आधार दिंदा सरकारले पनि त्यसै अनुरुप तयारी अघि बढाउने बुझिएको छ ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन र कांग्रेसको पक्षमा राम्रो नतिजा आएपछि सरकार सकेसम्म छिटो चुनाव गराउने रणनीतिमा छ । सत्ता गठबन्धन कायमै रहँदा फेरि मिलेरै चुनाव लड्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । यसैले छिट्टै चुनावको मिति घोषणा गर्ने तयारीमा देउवा छन् ।

अब संघको १६५ र प्रदेशको ३३० सिटका लागि चुनाव हुन लागेको हो ।

संघ र प्रदेशको निर्वाचन कात्तिक २७ र मंसिर ३ मा, कहाँ कहिले ?

ताजा अपडेट

नेपालवाच विशेष