NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विवेकशील साझा त्यागेर किन स्वतन्त्रबाट चुनाव लड्दैछन् अब्दुस मियाँ ?

काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारले सानदार जित हासिल गरेपछि आगामी संघीय निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनेको आकर्षण बढेको छ ।

सरकारले प्रदेश र संघको निर्वाचन आगामी कात्तिक वा मंसिरमा तोक्ने तयारी गरिरहेको छ । तर सरकारले निर्वाचन मिति तय गरिनसक्दै दलीय आवद्धता त्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको संख्या पनि बढ्न थालेको छ । पूर्वअनेरास्ववियु क्रान्तिकारीकी नेता मानुषी यमी, विवेकशील साझाकी नेता रञ्जु दर्शनालगायतले काठमाडौं क्षेत्र नम्बार ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

स्थानीय तहमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको विवेकशील साझाका नेताहरूले दलीय आवद्धता त्याग गरी स्वतन्त्र उम्मेदवारी दिने क्रम जारी रहेको छ ।

त्यसैक्रममा पार्टीका सचिवालय सदस्य अब्दुस मियाँले प्रतिनिधि सभा चुनावमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिने भएका छन् । मियाँले पार्टी छोडेर काठमाडौं क्षेत्र नंबर ६ बाट चुनाव लड्ने निर्णय गरेको उनले नेपालवाचसँग बताए ।

२०७४ सालमा ६ बाट कांग्रेसका भीमसेनदास प्रधान १६, ७८५ मत ल्याएर  निर्वाचित भएका थिए । पराजित माओवादीका झक्कुप्रसाद सुवेदीले १५, ४८५ मत ल्याएका थिए ।

यद्यपी उनले हालसम्म औपचारिक राजीनामा भने दिएका छैनन् । ‘औपचारिक रूपमा राजीनामा दिइसकेको छैन । तर, स्वतन्त्र उठ्ने निर्णय गरिसकेको छु,’ उनले भने, ‘त्यसकारण हालको लागि पार्टी छोड्नुको विकल्प छैन ।’

स्थानीय तह निर्वाचनमा पार्टीले पराजय भोगेपछि महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष रविन्द्र मिश्रले राजीनामा दिएका थिए । अध्यक्षको राजीनामासँगै पार्टी पार्टी छिन्नभिन्न भएको छ । पार्टीभित्र अहिले तीन वटा गुट रहेका छन् ।

यथास्थितिमा यी तीन समूहको समीकरणले मात्रै विवेकशील साझा वैकल्पिक राजनीतिको रूपमा उदाउन सम्भावना उनले देखेका छैनन् । देशभरका वैकल्पिक पार्टी एक भएमा पार्टी बलियो हुन सक्ने उनको भनाई छ । वैकल्पिक पार्टी एकै छानामुनि आएमा आफू पुनः पार्टी राजनीतिमै फर्किने उनले बताए ।

पत्रकारिता छोडेर रवीन्द्र मिश्रले साझा पार्टीको स्थापना गरेसँगै मियाँ त्यतिबेला पार्टीका सबैभन्दा कान्छा केन्द्रीय सदस्य थिए । युवा जमातमा राजनीतिप्रतिको वितृष्णा भइहेको बेलामा २२ वर्षको उमेरमै राजनीतिमा प्रवेश गरेर उनले त्यतिबेला चर्चा बटुलेका थिए ।

वैकल्पिक शक्ति निर्माण गरी मूलधारको राजनीति गर्न पाँच वर्ष अघि विवेकशील नेपाली र साझा पार्टीमा कम्बर कसेर लागेका थिए । तर नीति र नेतृत्वबीच टकराब र दन्तबझानका कारण अहिले उक्त पार्टी छिन्नभिन्न भएको छ । जसका कारण केही गर्ने उर्जाका साथ दलमा आवद्ध भएका नेताहरूले स्वतन्त्रमै भविष्य देखेका हुन् ।