NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गठबन्धन बनाएर चुनाव लड्दा कुन दललाई फाइदा ? कुन दललाई घाटा ?

काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये ३२४ अर्थात् ४३ प्रतिशत स्थानमा सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो ।

गठबन्धन गर्दाको सबैभन्दा बढी फाइदा माओवादीले उठाएको छ । गठबन्धन भएका तहको अध्ययन गर्दा कांग्रेस, नेकपा एस र जसपाको तुलना गर्दा माओवादीलाई गठबन्धनबाट धेरै फाइदा मिलेको देखिएको हो ।

थोरै ठाउँमा सिट लिएर गठबन्धनबाट फाइदा उठाउनेमा राष्ट्रिय जनमोर्चा पनि छ । उसले गठबन्धनबाट चार तहमा उम्मेदवारी दिंदा चारवटै जितेको छ ।

नेपाली कांग्रेस

स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२९ तहको नेतृत्व जितेको छ । कांग्रेस संख्यात्मक रुपमा पहिलो नम्बरमा देखिएको हो ।
तर गठबन्धन बनाएर उम्मेदवारी दिंदा माओवादीभन्दा कांग्रेसलाई घाटा परेको देखिएको छ । कांग्रेसले गठबन्धनबाट प्रमुख र उपाध्यक्ष गरी २०९ तहमा प्रमुखमा उम्मेदवारी दिएको थियो । उपप्रमुखमा ११५ तहमा उम्मेदवारी दिएको थियो ।

२०९ प्रमुखमा १२८ तह कांग्रेसले गठबन्धन भएको ठाउँमा जितेको छ । जुन ६१ प्रतिशत हो । उपप्रमुखका ११५ तहमा भने ८५ तह जितेको छ । जुन प्रमुखको भन्दा १३ प्रतिशत बढी अर्थात् ७४ प्रतिशत हो ।

माओवादी

माओवादीले गठबन्धनबाट ८१ प्रमुखमा उम्मेदवारी दिंदा ६९ प्रमुख जितेको छ । यो भनेको ८५.१९ को जित प्रतिशत हो । जुन कांग्रेसले प्रमुखमा जितेको भन्दा २४ प्रतिशत बढी हो । १२१ जितेकोमा माओवादीले गठबन्धनबाट ६९ र एकल रुपमा ५२ तह जितेको हो ।

उपप्रमुखमा माओवादीका १४९ उम्मेदवारमा ७९ जना निर्वाचित भएका छन् । यो भनेको ५३.०३ प्रतिशत हो । उपप्रमुखमा भने कांग्रेसले ७४ प्रतिशत जित्दा माओवादीले ५३ प्रशितमात्रै जितेको हो । जुन २१ प्रतिशत कम हो ।

नेकपा एस

गठबन्धनबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २७ तहको प्रमुखमा उम्मेदवारी दिएको थियो । जसमा १३ जना निर्वाचित भएका छन् । जुन ४८.१५ प्रतिशत हो । विजयी २० मध्ये १३ गठबन्धनबाट जित्दा ७ मात्रै एक्लै जितेको देखिन्छ ।

उपप्रमुखमा समाजवादीका ४३ उम्मेदवारमध्ये १४ जना विजयी भएका छन् । जुन प्रतिशतमा ३२.५६ हो ।

एक सय प्रतिशत जित्नेमा राजमाे

सत्ता गठबन्धनसँगै मिलेको राष्ट्रिय जनमोर्चाले भने प्रमुखमा दिएको उम्मेदवारीमा शतप्रतिशत जित निकालेको छ । ४ प्रमुखका उम्मेदवारमा ४ जना नै निर्वाचित भएका छन् । जुन शतप्रतिशत हो । ६ उपप्रमुखका उम्मेदवारमा ३ जना अर्थात् ५० प्रतिशत जितेका हुन् ।

जसपा

जसपा नेपालले तीन प्रमुखमा दुई अर्थात् ६६ प्रतिशत जितेको हो । उपप्रमुखमा ११ उम्मेदवारमा ४ जना अर्थात् ३६.३६ प्रतिशत हो । जसपाले यस क्रममा वीरगञ्ज महानगरपालिकाकाे नेतृत्व जित्याे ।

कांग्रेस एक्लैले कति जित्यो ?

गठबन्धनबाहेक कांग्रेसले ४२३ तहको प्रमुखमा उम्मेदवारी दिएकोमा २०१ तह जितेको छ । जुन प्रतिशतमा ४७.५ हो । उपप्रमुखमा ४१९ तहमा २१५ तहको नेतृत्व कांग्रेसले जितेको छ । जुन ५१.३ प्रतिशत हो ।

कांग्रेसले यसरी गठबन्धनसहित देशभर प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षमा गरी २१३ पद जितेको छ । गठबन्धनविना ४१६ यस्ता कार्यकारी पद जितेको हो ।

गठबन्धनबाट चुनाव लड्दा दल विशेषको घाटा नाफा एकातिर हुँदै गर्दा ६ महानगरमध्ये पाँचवटामा गठबन्धन विजयी भएका छन् । बलियो प्रभाव रहेका महानगरमा समेत एमालेलाई रोक्न गठबन्धन सफल भएका छन् ।

११ उपमहानगरपालिका भने एमाले तीनवटामा जित दर्ता गर्यो । कांग्रेसले तीनवटा जित्दा स्वतन्त्रले पनि तीनवटै जितेका छन् । बाँकी दुईमा एउटा माओवादी र एउटा नेकपा एसले जित्न पुगे ।

सबै ठाउँमा चुनावी तालमेल नभए पनि अघिल्लोपटक एमाले जितेका ठाउँमा र उनीहरूको गढ भत्काउन भने सत्ता गठबन्धन सफल भएका छन् । अघिल्लोपटक एमालेले २९५ तह जितेको थियो । एमालेले भने यसपटक २०५ तहमा मात्रै जित निकाल्यो । कांग्रेसले २०७४ मा भन्दा यसपटक ६३ तह बढीमा जित निकालेको छ ।

कांग्रेस नेता प्रदीप पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचनको लागि अनुगमन, मूल्यांकन तथा पुपरीवेक्षण उपसमितिले पार्टीलाई बुझाएको प्रतिवेदनमा गठबन्धनकाे अवस्थाबारेमा यी माथिका विषय उल्लेख गरिएका छन् ।

कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा कुन पदमा कति जित्यो ?