NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ऊर्जामा लोकप्रिय शर्मा अर्थमा विवादमा, मन्त्रीबाट फिर्ता बोलाउने तयारी

काठमाडौं । प्रचण्ड नेतृत्वको दोस्रो कार्यकालमा उर्जामन्त्रालय सम्हालेर मुलुकमा लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चर्चामा आएका अर्थमन्त्री जनार्दन शर्माअर्थमन्त्रालय सम्हालेपछि विवादमा पर्दै आएका छन् ।

देउवा नेतृत्वको सरकारमा माओवादीबाट अर्थमन्त्रालयको जिम्मेवारी पाएका शर्माले अर्थमन्त्रालयमा कार्यकुशलता र अनुभवहीनताका कारण विवादित बने । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणको क्रममा पूर्वनासुबाट राजश्वमाथि चलखेल गरेको गम्भीर आरोप लागेपछि सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले मन्त्री शर्माको राजीनामा माग गरेका छन् । यस विषयले अहिले राजनीतिक तरङ्ग नै ल्याएको छ ।

सोमबारको संसद् बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले जेठ १४ गते मध्यराति मन्त्री शर्माले अमुख व्यक्तिलाई आफ्नो कार्यकक्षमा बोलाई उच्च पदस्थ कर्मचारीकै बीचमा कर र भन्सार दरका दायरा बढाउन निर्देशन दिएको आरोप लगाए ।

‘उच्च पदस्थ कर्मचारीले नमान्दा नमान्दै भन्सार र करका दरका दायर बढाउन मन्त्रीले दबाबपूर्ण निर्देशन दिएर के गर्न खोजेका हुन्’, सांसद भट्टराईले मन्त्रीमाथि प्रश्न उठाउँदै भने, ‘विगतमा यही संसदमा प्रश्न उठेपछि सम्बन्धित मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएका थिए । संवेदनशील विषयमा राति अमुक व्यक्तिलाई प्रवेश गराउनु जनघात मात्र नभई राष्ट्रघात भएको छ । नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन सभामुख महोदय, यस विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्छ ।’

ऊर्जा मन्त्रालयको नेतृत्वमा रहँदा देशलाई लोडसेडिङमुक्त गरेर प्रशंसा बटुलेका शर्मालाई अर्थ मन्त्रालय सम्हालेयता विवादले पछ्याइरहेको छ

तर अर्थमन्त्रीलाई जोडेर संचारमाध्यमा प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले खण्डन गरेको छ । सोमबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील रहेका अर्थमन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित गरेको भन्दै अर्थमन्त्रालयले खेदजनक रहेको बताएको छ ।

‘अर्थ मन्त्रालयले २०७८ चैत्र १ गतेदेखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरू तथा अन्य सरोकारवाला निकायसँग परामर्श र अन्तरक्रिया प्रारम्भ गरेको, मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौंदा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझावहरू संकलनका लागि मन्त्रालयमा ११३८ को निस्शुल्क टोल फ्रि नं. व्यवस्थासहित आर्थिक वर्ष २०७९\८० को बजेट सम्वन्धी राय सुझाव संकलन कक्षसमेत स्थापना गरी बजेट निर्माणको कार्यलाई विगत वर्षहरू भन्दा फरक तवरबाट बढी जनअपनत्व बनाउने गरी माननीय अर्थ मन्त्रीको नेतृत्वमा मन्त्रालयको सम्पूर्ण टिम औपचारिक रूपमा बजेट लेखन र निर्माणमा निरन्तर खटेको’, विज्ञप्तिमा उल्लेख छ ।

शर्माले अर्थमन्त्रालय सम्हालेपछि एक पछि अर्को विवादमा फस्दै गएका छन् । यसअघि फागुनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) संसदबाट अनुमोदन गर्ने समयमा विभागीय मन्त्री नै संसदमा अनुपस्थित रहेर पर्वतमा घुम्न निस्केको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए ।

त्यस्तै राष्ट्र बैंकमा गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि शर्मा थप विवादमा तानिएका थिए । अधिकारीको निलम्बनलाई सर्वोच्चले बदर गर्दै काममा निरन्तरा दिएको थियो । अर्थमन्त्रीको कार्यशैलीप्रति स्वयम प्रधानमन्त्री देउवा नै असन्तुष्ट रहेका छन् । सेयर उतारचढावबारे पनि विवादित अभिव्यक्ति दिएकाे आराेप शर्मामाथि लाग्ने गरेकाे छ ।

बजेट निर्माणमा अमुख व्यक्तिको चलखेलबारे गम्भीर आरोप लागेपछि माओवादी भित्रै मन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको एक नेताले जानकारी दिएका छन् । केन्द्रीय कार्यलय बैठकमा सरकारमा सहभागी मान्त्रीलाई फिर्ता बोलाउनेबारे प्रश्न उठेको छ’, एक नेताले भने, ‘अर्थमन्त्रीबारे हामीले विभिन्न मिडियाबाट जानकारी पाएका हौं । विभागीय मन्त्रीमाथि गम्भीर विषय उठेपछि बैठकमा पनि प्रश्न उठेको छ । बजेट पास भएपछि थप छलफल गरेर निर्णय लिन्छौं ।’

अर्थमन्त्रीको जवाफ माग गर्दै संसदमा विपक्षी सांसदहरूले निरन्तर प्रश्न उठाएपछि आइतबार अध्यक्ष प्रचण्डले मन्त्री शर्मालाई आफ्नै निवास खुमलटारमा बोलाई छलफल गरेको प्रचण्डको सचिवालयले स्वीकार गरेको छ । प्रचण्ड पनि उनीसँग धेरै सन्तुष्ट नरहेकाे बताइन्छ । विवादमा तानिए सहज रूपमा उनकाे राजीनामा गराउनेसम्मकाे तयारी भएकाे बुझिएकाे छ ।

संसद् पुनस्र्थापना भएपछि शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पहिलो चरणमा देउवाले माओवादीबाट शर्मासहित पम्फा भुसाल र कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाएका थिए । अर्थमा शर्माबारे पार्टीभित्र प्रश्न उठेपनि अर्थमन्त्री बन्ने अडान लिएपछि प्रचण्डले उनैलाई पठाएका थिए ।

शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्माले अर्थमन्त्री बन्नकै लागि त्यससम्बन्धी विभिन्न किताब अध्ययन गर्दै अएका त्यतिबेला चर्चा चलेको थियो । आफ्नो कार्यकक्षमा ग्रामीण अर्थतन्त्र झल्काउने चित्र, डमीसहितका सामग्री राखेका छन् । आफूले पढेको अर्थतन्त्र यस्तै ग्रामीण परिवेशका सन्दर्भ भएको जवाफ उनले दिने गरेका छन् ।