NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बागमती प्रदेश सरकारसँग रिसाए बालेन

काठमाडौं महानगरपालिकाको मेयरमा चामत्कारिक जित निकालेका बालेन्द्र शाह (बालेन) निकै संयमित लयमा देखिँदै आएका छन् । चुनावी प्रतिस्पर्धाको दौरान आफूमाथि उठेका प्रश्नको जवाफ दिँदा होस् या मेयरमा निर्वाचितपछि वडाध्यक्षलगायत जनप्रतिनिधिसँगको वादविवाद, यी सबै परिस्थितिको उनले शालीनतापूर्वक सामना गर्दै आइरहेका छन् ।

उनीसँग रुखो लयमा प्रस्तुत जनप्रतिनिधिको स्वर एकाएक मत्थर र मिजासपूर्ण हुनुले पनि बालेनको नेतृत्व क्षमता झल्काउँछ ।

आफूले दिने अभिव्यक्ति र चाल्ने कदम भविष्यमा कति असरदार रहन्छ भन्ने पाटो विश्लेषण गरेर मात्र बालेनले प्रतिक्रिया दिने गरेका छन् । भलै जायज विषयमा भने बालेन जिब्रो नचपाइकन प्रष्ट धारणा राख्छन् । जुन दृश्य आफ्नो पदबहालीको पहिलो दिन पत्रकारले राखेको जिज्ञासाको जवाफ दिने क्रममा देखिएको थियो ।

शालीन छवि बनाएका उनै  बालेनले बागमती प्रदेश सरकारप्रति भने कडा रोष प्रकट गरेका छन् । अभिमुखीकरण कार्यक्रममा त्यसको फर्म्याटविपरीत लगातार महानगरपालिकाको आलोचना भएपछि बालेन रुष्ट बनेका हुन् ।

संघीय सरकारसँगको सहकार्यमा बागमती प्रदेश सरकारले सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । जसमा प्रदेशभित्रका नवनिर्वाचित जनप्रतिनिधिसँगै काठमाडौं महानगरपालिका मेयर बालेन र उपमेयर सुनिता डंगोल सहभागी भएका थिए ।

अभिमुखीकरण भनिए पनि त्यहाँ काठमाडौं महानगरपालिकाको चर्को आलोचना गरिएको थियो । महानगरपालिका तारो बन्नुको कारणचाहिँ फोहोर व्यवस्थापनलगायत विषय थिए ।

अभिमुखीकरणको समय काठमाडौं महानगरपालिकाको आलोचनामा खर्च भएपछि बालेनले त्यसप्रति चर्को असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नै बागमती प्रदेशको रवैयाबारे तीतो पोख्दै उक्त अभिमुखीकरण तालिमलाई काठमाडौं महानगरपालिकालाई गाली गर्ने कार्यक्रम’ भनेका छन् ।

‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि चर्चामा आएका बालेनले सम्भवतः त्यसयता कुनै संस्थामाथि सार्वजनिक रूपमा गरेको यो पहिलो टिप्पणी हो ।

बालेनको ११ घण्टाअघिको उक्त पोस्ट्मा हालसम्म ३१ हजार लाइक र १ हजार चार सय प्रतिक्रिया आएका छन् । जसमा अधिकांशले बालेनलाई समर्थन गर्दै राजनीतिमा व्याप्त गाली संस्कृतिमाथि कटाक्ष गरेका छन् ।

कमेडी च्याम्पियन हिमेश पन्तले नेताहरूमा गाली गर्नेबाहेक गुण नभएकाले गुनासो गर्न नहुने आशय व्यक्त गरेका छन् ।

‘गाली गर्नेबाहेक अरू क्वालिफिकेसन केही छैन नेताहरूको । के गर्नु त हजुर,’ पन्तले बालेनको स्ट्याटसमा प्रतिक्रिया जनाएका छन् ।

दुर्गाप्रसाद न्यौपानेले काम गर्नेले गाली पाउनु स्वभाविक भएकाले विचलित नभई अघि बढ्न सुझाएका छन् ।

‘काम गर्नेलाई नै हो गाली गर्ने । काग कराउँदै गर्छ बालेनजी अगाडि बढ्नुहोस् । जनता तपाईंको साथमा छन् ।’

 

ताजा अपडेट

नेपालवाच विशेष