NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बागमती प्रदेश सरकारसँग रिसाए बालेन

नाम अभिमुखीकरण, काम गाली ?

काठमाडौं महानगरपालिकाको मेयरमा चामत्कारिक जित निकालेका बालेन्द्र शाह (बालेन) निकै संयमित लयमा देखिँदै आएका छन् । चुनावी प्रतिस्पर्धाको दौरान आफूमाथि उठेका प्रश्नको जवाफ दिँदा होस् या मेयरमा निर्वाचितपछि वडाध्यक्षलगायत जनप्रतिनिधिसँगको वादविवाद, यी सबै परिस्थितिको उनले शालीनतापूर्वक सामना गर्दै आइरहेका छन् ।

उनीसँग रुखो लयमा प्रस्तुत जनप्रतिनिधिको स्वर एकाएक मत्थर र मिजासपूर्ण हुनुले पनि बालेनको नेतृत्व क्षमता झल्काउँछ ।

आफूले दिने अभिव्यक्ति र चाल्ने कदम भविष्यमा कति असरदार रहन्छ भन्ने पाटो विश्लेषण गरेर मात्र बालेनले प्रतिक्रिया दिने गरेका छन् । भलै जायज विषयमा भने बालेन जिब्रो नचपाइकन प्रष्ट धारणा राख्छन् । जुन दृश्य आफ्नो पदबहालीको पहिलो दिन पत्रकारले राखेको जिज्ञासाको जवाफ दिने क्रममा देखिएको थियो ।

शालीन छवि बनाएका उनै  बालेनले बागमती प्रदेश सरकारप्रति भने कडा रोष प्रकट गरेका छन् । अभिमुखीकरण कार्यक्रममा त्यसको फर्म्याटविपरीत लगातार महानगरपालिकाको आलोचना भएपछि बालेन रुष्ट बनेका हुन् ।

संघीय सरकारसँगको सहकार्यमा बागमती प्रदेश सरकारले सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । जसमा प्रदेशभित्रका नवनिर्वाचित जनप्रतिनिधिसँगै काठमाडौं महानगरपालिका मेयर बालेन र उपमेयर सुनिता डंगोल सहभागी भएका थिए ।

अभिमुखीकरण भनिए पनि त्यहाँ काठमाडौं महानगरपालिकाको चर्को आलोचना गरिएको थियो । महानगरपालिका तारो बन्नुको कारणचाहिँ फोहोर व्यवस्थापनलगायत विषय थिए ।

अभिमुखीकरणको समय काठमाडौं महानगरपालिकाको आलोचनामा खर्च भएपछि बालेनले त्यसप्रति चर्को असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नै बागमती प्रदेशको रवैयाबारे तीतो पोख्दै उक्त अभिमुखीकरण तालिमलाई काठमाडौं महानगरपालिकालाई गाली गर्ने कार्यक्रम’ भनेका छन् ।

‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि चर्चामा आएका बालेनले सम्भवतः त्यसयता कुनै संस्थामाथि सार्वजनिक रूपमा गरेको यो पहिलो टिप्पणी हो ।

बालेनको ११ घण्टाअघिको उक्त पोस्ट्मा हालसम्म ३१ हजार लाइक र १ हजार चार सय प्रतिक्रिया आएका छन् । जसमा अधिकांशले बालेनलाई समर्थन गर्दै राजनीतिमा व्याप्त गाली संस्कृतिमाथि कटाक्ष गरेका छन् ।

कमेडी च्याम्पियन हिमेश पन्तले नेताहरूमा गाली गर्नेबाहेक गुण नभएकाले गुनासो गर्न नहुने आशय व्यक्त गरेका छन् ।

‘गाली गर्नेबाहेक अरू क्वालिफिकेसन केही छैन नेताहरूको । के गर्नु त हजुर,’ पन्तले बालेनको स्ट्याटसमा प्रतिक्रिया जनाएका छन् ।

दुर्गाप्रसाद न्यौपानेले काम गर्नेले गाली पाउनु स्वभाविक भएकाले विचलित नभई अघि बढ्न सुझाएका छन् ।

‘काम गर्नेलाई नै हो गाली गर्ने । काग कराउँदै गर्छ बालेनजी अगाडि बढ्नुहोस् । जनता तपाईंको साथमा छन् ।’