NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुरेन्द्र पाण्डेले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

मंगलबारको संसद बैठकको सुरुमै बोलेका पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।

अर्थमन्त्रीका विषयमा गम्भीर प्रश्न उठेकाले पदमा रहिरहन नैतिक रूपमा जायज नभएको उनको भनाइ छ ।

‘अर्थ मन्त्रीज्यूको विषयमा गम्भीर प्रश्न उठेको छ,’ पाण्डेले भने, ‘पदमा रहिरहन उहाँ सक्षम हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ ।’

करको ज्यादै गोप्य र संवेदनशील विषयमा चलखेलको विषय बाहिरिएकाले त्यसमाथि छानबिन हुनुपर्ने उनको माग छ ।

‘करको ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षाजस्तै संवेदनशील हुन्छ यो । यसबारे साँठगाठ गम्भीर अपराध मानिन्छन् । त्यसैले यसबारे छानबिन हुनुपर्छ,’ उनले भने ।

बजेट सार्वजनिक हुने अघिल्लो दिन जेठ १४ गते मध्यराति असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको समाचार सोमबार अन्नपूर्ण पोस्ट् दैनिकले सार्वजनिक गरेको थियो । त्यसपछि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी आलोचना भइरहेको छ ।