NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

वैकल्पिक शक्ति बन्न हिंडेका रविन्द्र मिश्र आफैं विकल्प खोज्दै !

काठमाडौं । नेपालमा सुसंस्कृत राजनीतिको जग निर्माण नगरी रूपान्तरण सम्भव नभएको भन्दै चर्चित पत्रकार रवीन्द्र मिश्र १७ फागुन २०७३ मा बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए । मिडियामा रहँदा विकृति र विसंगतिको विषयमा विभिन्न राजनीतिक दलका नेताहरूमाथि खरो प्रश्न गरी चर्चामा रहेका उनै मिश्र बीबीसीको आकर्षक जागिर छोडेर राजनीतिमा फाल हाले ।

त्रिभुवन विश्वविद्यालबाट अंग्रेजीमा स्नाकोत्तर गरेका गरेका उनले पाकिस्तानको पञ्जाव युनिभर्सिटीबाट पत्रकारिता र लण्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् । मिश्र राजनीतिमा आउँदा उनी सबैको आकर्षणको पात्र थिए । राजनीतिमा उनको आगमनसँगै युवाहरूसमेत राजनीतिमा आकर्षित भए । मिश्र २०७४ सालको संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भए । सिंहले १० हजार ९३६ मत ल्याइ विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।

तर पाँच वर्ष नपुग्दै वैकल्पिक शक्ति निर्माण गर्न आएका मिश्रले जेठ ११ गते विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिए । स्थानीय तहको दोस्रो निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । निर्वाचन परिणामप्रति असन्तुष्ट रहेका मिश्रले राप्रपा प्रवेश गर्ने तयारी गरेको समाचार प्रकाशित भएपछि उनले खण्डन गरेका छन् ।

‘जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ–राजनीतिक रूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक–सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ । नेपालमा अहिले त्यस्तो पार्टी छैन ।’ राप्रपा प्रवेशको समाचार आएपछि खण्डन गर्दै मिश्रले लेखेका छन्, ‘त्यसैले, समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भूमरीबाट जोगाउन ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण÷ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन । म एक्लै कतै जोडिएर त्यो संभव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन÷एकीकरण÷ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ ।’

उनले अनुमान र एकपक्षीय रूपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन आग्रहसमेत गरेका छन् । समाचारको खण्डन गरेपनि मिश्रले विज्ञप्तिमार्फ्त वैकल्पिक शक्ति निर्माणका लागि एक्लै सम्भव नरहेको स्वीकारेका छन् ।

मिश्रले अस्वीकार गरे पनि आफ्नो दलमा मिश्रले प्रवेश गर्न छलफल चलाएको दाबी राप्रपाका नेताले गरेका छन् । राप्रपाका एक नेताका अनुसार मिश्रले राप्रपाकै अध्यक्ष समानको हैसियतको दाबी गरेका थिए । सिंगो पार्टी विलय हुने अवस्था नरहेकोले मिश्रलाई सहअध्यक्ष दिन नहुने गरी आवाज उठेको बताइन्छ ।

‘दुई पार्टी एकताबारे हामीले विभिन्न चरणमा छलफल गर्दै आएका छौं । एकताका लागि दुवै पार्टी सकारात्मक छन् । तर रवीन्द्रजीलाई पार्टीभित्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे निष्कर्षमा पुगेका छैनौं ।’ राप्रपाका ती नेताले भने । राप्रपासँगको छलफल सकारात्मक नदेखिएकाले आगामी निर्वाचनमा मिश्रले स्वतन्त्र उम्मेदवारी दिनेलाई समेत विकल्पमा राखेका छन् ।

मिश्रको वैकल्पिक राजनीतिक शक्ति निर्माण योजना अलपत्र

उनले संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माणको वैकल्पिक राजनीतिको खोजी गर्ने बताएका थिए ।

सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण आफ्नै जीवनकालमा सम्भव छैन भन्ने तर्क उनको थियो । त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले साथ पाउने मिश्रले निष्कर्ष निकाले ।

सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माणको खोजीमा उनले २०७४ मा साझा पार्टी खोले । उक्त पार्टीले कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्दै तल्लो निकायदेखि जनसहभागितासहित संगठन निर्माण गर्ने नीति लियो ।

संगठन निर्माणकै क्रममा वि.सं. २०७४ कात्तिकमा साझा पार्टी र समान उद्देश्य बोकेको, विवेकशील नेपाली दलबीच एकीकरण भई विवेकशील साझा बनेको थियो । जसका संयोजकमध्ये एक रवीन्द्र मिश्र हुन् । नयाँ पार्टी गठन भएको छोटो समयमै विवेकशील साझाले २०७४ मा भएको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भाग लियो ।

तर एक वर्ष नपुग्दै पार्टीभित्र मिश्रले ६०–४० को खेल सुरू गरेको आरोप लगाउँदै संयोजक उज्ज्वल थापा समूह ०७५ पुसमा अलग भए । ३७ सदस्य केन्द्रीय समिति रहेको विवेकशील साझाबाट थापा समूहका १६ केन्द्रीय सदस्य अलग भएका थिए । वाग्मती प्रदेशका तीन प्रदेशसभा सदस्यमध्ये दुई जना नयाँ दलमा लागेका थिए ।

परम्परागत राजनीतिक दलहरूलाई प्रतिस्थापन गरी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उदेश्य राखेर खोलिएको विवेकशील साझालेसमेत कुनै विकल्प दिन नसकेको आरोप रञ्जु दर्शनाहरूले लगाए । वैकल्पिक राजनीतिक दल पनि संगठनात्मक अराजकताको शिकार बन्यो । जसको नतिजा परम्परागत राजनीतिक दलभन्दा पनि छिटो विभाजनको रेकर्ड यो दलले राख्यो ।

तर विभाजन भएको दुई वर्षपछि दुवै पार्टीले एकताको महसुस गरी २०७७ मंसिरमा पुनः पार्टी एकता गरे । जसको अध्यक्षमा मिश्र र संयोजकमा मिलन पाण्डे रहे । एकीकृत पार्टीमा ६५–६५ सदस्य रहने गरी १३० सदस्यीय केन्द्रीय कमिटी गठन भयो । दुवै पार्टीबाट १३–१३ सदस्य रहने गरी सचिवालय गठन गरेको थियो ।

तर विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएपछि ०७८ पुसमा पाण्डे समूहलाई मिश्रले कारवाही गरे । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमतसंग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए । कारबाहीको विरोधमा पाण्डे समूह न्यायका लागि निर्वाचन आयोग गयो । यद्यपि आयोगले मिश्र समूहलाई नै पार्टीको मान्यता दियो । पार्टी विवादको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । विवाद उत्कर्षमा रहेकै बेला चर्चित नेता रञ्जु दर्शनाले पार्टीबाट राजीनामा दिइन् । दलभित्र गुटगत स्वार्थ, सांगठनिक अराजकता र राजनीतिक कार्यदिशामा आएको विचलनका कारण गठन भएको पाँच वर्षमै विवेकशील साझा छिन्नभिन्न भएको छ । एक अर्काबीच कारबाहीको श्रृंखला जारी छ । नीति, सिद्धान्त, संगठन निर्माण र राजनीतिक कार्यदिशामा विचलन आएपछि मिश्रले पाँच वर्ष अघि सारेको वैकल्पिक राजनीतिक शक्ति निर्माणको योजना अलपत्र मात्रै परेको छैन, यी दलका नेता अलपत्र छन् ।

यस्तो छ रवीन्द्र र मिलनबीच ‘लभ हेट’ पत्रचारको श्रृंखला
प्रिय मिलनजी,
तपाईंको पत्रमा देखिएको सदासयताका लागि धन्यवाद तर वास्तविकता अलि फरक छ। म ईमेलमा या बाहिर सञ्चार माध्यममा व्यक्तिगत आरोप–प्रत्यारोप या सवाल–जवाफमा उत्रिन चाहान्न। त्यो गर्ने वित्तिकै, नचाहाँदै–नचाहँदै, संवादको स्तर गिरेर जान्छ ।
तर पनि तपाईंले अहिलेको र यसअघिका केही इमेलमा जुन आरोपहरू लगाइराख्नुभएको छ त्यसको परिप्रेक्षमा मैले केही कुरा राख्नै पर्ने हुन्छ ।

१) सबैभन्दा पहिले तपाईंले पार्टीको अध्यक्षलाई केन्द्रीय समितिमा आफ्ना धारणा राख्नबाट रोकिदिनुभयो। त्यो निषेधको राजनीति थियो। मैले मेरो धारणा अस्वीकृत भएमा सहर्ष स्विकार्छु भनेकै थिएँ । जब मैले मेरो धारणा केन्द्रीय समितिमा ईमेले गरेर सार्वजनिक गरेँ, त्यसपछि सार्वजनिकरुपमा तपाईं र अन्य केही साथीहरूले के, के भन्नुभयो र कस्ता आरोपहरू लगाउनु भयो, सबै जानकार नै हुनुहुन्छ । त्यसपछि पनि हाम्रा छलफलहरू चलिनै रहे ।

२) छलफलको क्रममा मलाई बारम्बार भनिएका वाक्यहरू यसप्रकार छन्ः अब हामी कुनै पनि हालतमा मिलेर जान सक्दैनौँ; छुट्टिने त छुट्टिने नै हो तर पहिलो पटक फुट्दा दोष विवेकशीललाई लाग्यो, यो पटक तपाईं त्यो दोष लिइदिनोस; ‘कु’ गरिदिनोस् न हामीलाई आफ्नो बाटो लिन सजिलो हुन्छ; अब चाहिँ हामी नछुट्टिने भयौँ तर हामी तपाईंहरूलाई सुख दिँदैनौँ, दुखै दिने हो, आदि–इत्यादि ।

३) त्यसबीच तपाईं र तपाईंहरूका साथीहरूका अनेकौँ बैठकमा गैरराजनीतिक देखिने गरि कुनै माध्यमबाट पार्टीको केन्द्रीय समितिदेखि तलसम्मका साथीहरूलाई जोड्दै जाने र अन्ततः जति सकिन्छ त्यति साथी लिएर छुट्टिने सल्लाहरू भएका चर्चा चले ।

४) ती सबै हुँदै गर्दा तपाईं र मबीच भएका संवादमा तपाईंले मलाई मेरो दस्तावेज फिर्ता लिन, मैले नै पार्टी फुटाएर अर्को पार्टी बनाउन, विवेकशील साझा र तराजु चिन्ह तपाईंहरूलाई छोडिदिन र तपाईंले बुझे अनुसारको एकीकरणको मर्ममा उभिन सुझाउनुभयो।

५) मैले तपाईंलाई मेरो बुझाइको राष्ट्रिय हित (लबतष्यलब िष्लतभचभकत) को विषय नेपाली राजनीतिमा कसरी गौण भएर गयो, सो विषय मेरोभन्दा पनि तपाईंको पुस्ताको लागि कति संवेदनशील र महत्वपूर्ण छ, पार्टी निर्माणका लागि जनभावनालाई संवोधन गर्न किन जरूरी छ र मेरो दस्तावेजले कसरी धेरैको आम मनोविज्ञानलाई छोएको देखिएको छ भन्ने व्याख्या गर्दै पार्टीको भविष्य र हाम्रो देश बनाउने सपना कसरी अहिले मैले प्रस्तुत गरेको दस्तावेजसँग जोडिएको छ भन्नेबारे विस्तृतरूपमा उल्लेख गरेँ ।

६) त्यसैले, मैले तपाईंलाई पहिलो प्रस्ताव, देशको हित हुन्छ र पार्टी बन्छ जस्तो लाग्छ भने “विचारभन्दा माथि देश”लाई राखेर मैले प्रस्तुत गरेको दस्तावेज अनुरुप अघि बढौँ भनेर सुझाएँ। त्यसो हुन सक्दैन भने दोस्रो प्रस्तावका रूपमा महाधवेशन गर्नका लागि ‘अत्यावश्यकीय कार्य’मा मात्र केन्द्रीत भएर अघि बढौँ र महाधिवेशनको परिणाम सहर्ष स्विकार गरौँ भने । कुनै पनि प्रस्तावमा सहमति नै हुन सक्दैन र तपाईंले बारम्बार उल्लेख गरे झैँ तपाईंहरू साँच्चिकै केही साथीहरू छोडेरै जाने मनस्थितिमा हो भने त्यसलाई नेपालको इतिहासमैँ कहिल्यै नभएको ढङ्गबाट सौहार्दपूर्ण बनाउँ किनभने मेरो राजनीति बढीमा १० वर्ष छ भने तपाईंहरूको राजनीति २५ वर्षसम्म जान सक्छ र म त्यसमा फोहोर फ्यालेर तपाईंहरूलाई दुषित बनाउन चाहन्न भनेँ ।

७) हाम्रो कुरा कहिँ पनि मिल्न सकेन र त्यसपछि हामी केन्द्रीय समितिको बैठक सक्दो छिटो बोलाउने र त्यहिँबाट निकास खोज्ने भन्नेमा सहमत भयौँ। तर केन्द्रीय समितिको बैठकमा एकीकरण भएदेखि हामीले गर्छु भनेर गर्न नसकेका लगायतका कतिपय एजेण्डा सबै अबको बैठकमा एकैपटक लैजानु पर्नेमा तपाईंले जोड गर्नुभयो। मैले अहिलेको जटील अवस्थामा सबै पुरान विषय उक्याउँदा त्यसले थप जटिलता थप्ने निश्चित हुनाले त्यसो नगरौँ र उत्पन्न पछिल्लो परिस्थितिबारेमा मात्र केन्द्रित हौँ भन्नेमा जोड दिएँ । सबै पुराना विषय कोट्याएर अहिले हामी कहिँ पनि पुग्न सक्दैनौँ भन्ने मेरो धारणा थियो।

८) मैले उदाहरण दिँदै तपाईंलाई भनेँ, ‘मन्त्रिपरिषदले आजसम्मका मन्त्रिपरिषदका सबै निर्णयहरूको पालना नभइ हामी अन्य निर्णय गरेर अघि बढ्न सक्दैनौँ’ भन्न सक्दैन र मिल्दैन । संसारको कुनै पनि मन्त्रिपरिषदले त्यस्तो गर्दैन। त्यस्तै नेपालको २०१३ सालदेखिको पञ्चवर्षीय योजनाका सबै प्रतिवद्धता पुरा नगरी अब अरू योजना बन्दैन भन्न पनि सकिँदैन । हाम्रो स्थिति र सामान्यतया संसारभरिका सबै संस्थाहरूको स्थिति त्यस्तै हो । कयौँ काम हुन्छन्। कयौँ काम विविध कारणले समयमा पुरा हुँदैनन् ।

९) तर मलाई डर कहाँनिर लाग्यो भने, तपाईंले बारम्बार ‘तपाईंहरूलाई दुखै दिने हो, सुख दिन्नौँ’ भन्नु र कतिपय साथीहरूको भनाईमा समानान्तर गतिविधि गर्दै ६÷८ महिना विताएर अन्ततः सकेका साथी लिएर छुट्टिने कुरामा मैले समानता देख्न थालेँ। किनभने, तपाईंले भनेका सबै एजेण्डा केन्द्रीय समितिमा प्रवेश गराउने वित्तिकै एउटा ठूलो पक्ष त्यसबाट अत्यन्तै रुष्ट हुनेवाला थियो । त्यसपछि उत्पन्न हुने वादविवाद र तिक्तता धानि नसक्नु हुन्थ्यो, बैठक रोकिन्थ्यो, फेरी बोलाइन्थ्यो या बोलाइनु अघि नै कुरा बिग्रिन्थ्यो ।

१०) तसर्थ, मैले तपाईंलाई एजेण्डाको भाषा ‘पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासबारे’ भन्ने खालको बनाऊँ र त्यसअन्तर्गत तपाईंले भन्न चाहेका सबै कुरा भन्नुहोस् तर अहिलेको स्थितिमा थप विवाद सृजना गर्ने अन्य एजेण्डा नराखौँ भन्ने आग्रह गरेँ। तर तपाईंले मान्नुभएन ।

१) एजेण्डालाई अहिलेको विषयमा मात्र केन्द्रीत नगरेर विवाद झन बढाउन तपाईंको ध्येय र तपाईंले माथि बुँदा नं २ मा उल्लेख गरेजस्तो तपाईंको मनसायबीच जब मैले तादात्म्य देखेँ, मलाई लाग्यो पार्टी अब यसरी अनिर्णयको बन्दी बनेर घस्रिरहन सक्दैन। तत्पश्चात, मैले कानूनी सल्लाह लिएर एकल बैठक बोलाएको हुँ।

१२) यो जटील समयमा तपाईंले भनेजस्ता नानाभाँतीका ११ वटा एजेण्डा एकैपटक उठाएर, बैठकमा किचकिच गराएर, बैठक लम्बाउँदै लगेर तपाईंले दिन खोजेको दुख र अन्तमा लिन खोजेको देखिएको कदम म स्वीकार गर्न सक्दिन । तर मैले तपाईंलाई हिजोको भेटमा गरेको अनुरोध दोहोर्याउन चाहेँः तपाईं भोलि १२.३० बजेको बैठकमा उपस्थित भएर तपाईंले भन्न खोजेका सबै कुरा र उठाउन खोजेका सबै विषय दिल खोलेर राख्नुहोस्। मलाई जति गाली गर्न पर्छ गर्नुहोस् । तर तपाईंले अहिले भनेका एजेण्डा छुट्टाछुट्टै रुपमा अघि बढाउन म स्वीकृति जनाउन सक्दिन । भोलिको बैठकदेखि नै हामी निकासको बाटो खोज्नेछौँ ।

१३) यो पार्टी बचाउँ तर पार्टीका गतिविधिलाई निरन्तर अवरूद्ध गरेर र बन्दी बनाएर होइन। यो पार्टी बनाउनै पर्छ र यो देशको रुपान्तरणकारी पार्टी बन्नै पर्छ भन्नेमा म यो पार्टीका नेता, सदस्य र शुभच्छुकहरू जत्ति नै प्रतिवद्ध छु । सकेको गरेको छु । हामीले गत केही वर्षमा धेरै उतार–चढाव बेहोर्यौँ, धेरै सिक्यौँ, अब हामीले एउटा स्पष्ट, अनुशासित, प्रतिवद्ध बाटो समात्नै पर्छ । हाम्रालागि प्रशस्त संभावना देखिएको छ ।

१४) अन्त्यमा, म कुनै पनि हालतमा तपाईं र अन्य कतिपय साथीहरूसँग दुईवटा विषयमा बैचारिक बेमेल भयो भन्दैमा सार्वजनिकरूपमा तपाईंलाई व्यक्तिगत ढङ्गबाट हिलो छ्याप्ने काम गर्दिनँ र घरको झगडा चौतारीमा लगेर छताछुल्ल पनि पार्दिन। तपाईंहरूले पनि त्यसो नगरिदिए आभारी हुनेछु । यसपश्चात्, म फेरि इमेल जुहारीमा संलग्न हुन चाहन्नँ । जे भन्नुपर्छ, केन्द्रीय समितिमैँ भनौँ भन्ने मेरो आग्रह छ । म पुनः एकपटक तपाईंलाई स–स्नेह, स–श्रद्धा र कुनै नमिठो भावविना भोलि १२.३० को बैठकमा उपस्थित हुन अनुरोध गर्दछु ।
एकाध कुरामा विचार नमिले पनि तपाईंको सधैँ भलो चाहने,
रवीन्द्र मिश्र
अध्यक्ष, विवेकशील साझा पार्टी

जवाफमा पार्टीका केन्द्रीय संयोजक पाण्डेले अध्यक्षलाई मिश्रलाई अन्तिम आग्रह लेखेको पत्र

प्रिय रवीन्द्रजी नमस्कार,

हामी दुवैमा इख होला । हामी दुबैमा इच्छाशक्ति पनि होला । हालका लागी आक्रोश पनि होला । तर, यही नेर एउटा प्रश्न आउँछ, हामी ठुलो की पार्टी ? पक्कै पनि मेरो लागि पार्टी ठुलो हो ।

रवीन्द्रजी, हामी वैचारिक छलफलकै क्रममा रहँदा र विधान पनि तयार नहुँदै यहाँले विधान र घोषणापत्र विपरीत ‘मार्ग परिवर्तन’ गर्नु भयो । हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो । पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ । तर, बैठक नबोलाऔँ भनेको थिइनँ । यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक मिलेर बोलाऔँ भनेर आग्रह गरेँ ।

बाध्य भएर मैले तपाईँले प्रयोग गर्नुभएको दफा २०.१० र ६१.३ प्रयोग गरेर बैठक बोलाएँ । त्यसपछि पनि, हिजो यहाँलाई भेटेर पुनः हामी दुवैले बैठक फिर्ता गरौँ र नयाँ समयमा हामी दुबैका सबै एजेन्डासहित विधानसम्मत बैठक बसौँ भनेर अनुरोध गरेँ । यहाँले मान्नुभएन ।

धेरै सदस्यहरू र शुभेच्छुकहरूको आग्रह अनुसार, म फेरि पनि यहाँलाई सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरूलाई साक्षी राखेर पुनः त्यही प्रस्ताव गर्न चाहन्छु । रवीन्द्रजी, हामी दुवैले आफ्नो बैठक क्यान्सिल गरौँ। एक हप्ता भित्रमा केन्द्रीय समितिको हामी दुवैका एजेन्डासहित भौतिक बैठक बसौँ । पारदर्शी छलफल गरौँ ।

मैले आफ्नो इगो, आक्रोश, दम्भ, सबै भावना साइडमा राखेर यो प्रस्ताव राखेको हुँ । एकारकालाई देखाइदिने बाटोले हामी सबैलाई पीडा दिने छ । पार्टीलाई पिडा दिनेछ । वैकल्पिक राजनीतिलाई पीडा दिने छ ।

आशा छ, हामी सबैको आग्रह मान्नुहुनेछ र पार्टीलाई विधान अनुरूप अघि बढाउन सहमतिमा आउनुहुनेछ ।
सबै चिन्तित साथीहरूसँग म मागी माग्दै पार्टी बचाउन अपिल गर्दछु ।