NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

मंकीपक्सको आशंका गरिएको बिरामीमा कुष्ठ रोग पुष्टि

काठमाडौं । मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएर चिकित्सकको निगरानीमा रहेका युवकमा कुष्ठ रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकु अस्पतालमा रहेका ती युवकमा कुष्ठरोगको जीवाणु भेटिएको हो ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी हुन् ।

दुबईबाट नेपाल फर्किएका ती युवकमा मंकीपक्ससँग मिल्ने लक्षण देखिएपछि बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिबिरा देखिएकाले विमानस्थलबाट सिधै टेकु अस्पताल लगिएको थियो ।

विश्वका २९ देशमा देखिएको मंकीपक्सको संक्रमण नेपालमा अहिलेसम्म पुष्टि भएको छैन । विश्वभर १ हजारभन्दा बढी व्यक्तिमा यसको संक्रमण पुष्टि भइसकेको छ ।