NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

काठमाडौं–६ बाट भिड्दै पूर्वआइजिपी र मिया

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको दौडधुप सुरु भएको छ । विभिन्न माध्यमबाट आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहँदा काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र विवेकशील साझा छाडेर स्वतन्त्र उम्मेदवारी दिने तयारीमा जुटेका अब्दुस मियाको टक्कर पर्ने भएको छ ।

स्रोतका अनुसार, नेपाल प्रहरीका पूर्वमहानिरिक्षक खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिन तयारी अघि बढाएका छन् । यद्यपि, उनले यसबारे औपचारिक रूपमा मुख खोलेका भने छैनन् ।

कांग्रेस पृष्ठभूमिका खनाल विद्यार्थीकालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध थिए । महानिरीक्षक नियुक्तपूर्व पनि उनी प्रहरी संगठनभित्र कांग्रेसनिकट भनेर चिनिन्थे । तर खनाल अब्बल प्रहरी अधिकृत रमेश खरेल, उत्तम कार्की, पुष्कर कार्कीलगायतलाई चक्मा दिँदै एमालेको रोजाइमा पर्न सफल भए । त्यसपछि नै उनी आफ्नो पुरानो धार परिवर्तन गरेको एमालेतिर ओत लागेको जानकारहरू सुनाउँछन् ।

त्यसो त राजनीतिमा आउने रुचि देखाए पनि खनाल औपचारिक रूपमा कुनै पनि दलमा खुलिसकेका भने छैनन् । योबीचमा उनी कांग्रेस र एमाले दुवै दलसँग संवादमा थिए । स्रोतका अनुसार, एमालेसँग उनको मोटामोटी सहमति बनेको छ ।

०७७ वैशाख १० मा जसपा सांसद सुरेन्द्र यादवले आफू एमाले नेताहरूबाट अपहरणमा परेको आरोप लगाएका थिए । जुन प्रकरणमा महेश बस्नेतलाई सघाएको आरोप खनालमाथि छ । यद्यपि, बस्नेत र खनालले त्यसलाई अपहरण नभएर सल्लाहमा काठमाडौं आएको बताउँदै आएका छन् । उपेन्द्र र बाबुराम भट्टराईको दललाई विभाजन गराएर ओली नेतृत्वको सरकारमा सामेल गराउने योजनामुताबिक सांसद यादवलाई काठमाडौं ल्याइएको बताइन्छ । संकटमा परेको ओली नेतृत्वको तत्कालीन सरकारलाई टिकाउन नजिकबाट साथ दिएकाले पनि खनालप्रति एमाले अध्यक्ष ओलीको सदभाव छ ।

सोही क्षेत्रबाट विवेकशील साझा पार्टीका सचिवालय सदस्य अब्दुस मियाले पनि उम्मेदवारी दिने बताइसकेका छन् । मियाले विवेकशील साझाको राजनीति छाडेर स्वतन्त्रतर्फबाट निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

साझा पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मिया हाल विवेकशील साझाका सचिवालय सदस्य छन् । युवा पुस्तामाझ उनले पनि आफ्नो भिन्नै छवि स्थापित गरेका छन् । स्नानीय तह निर्वाचनमा शर्मनाक हार बेहोरेसँगै सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि विघटनजस्तै अवस्थामा गुज्रिरहेको छ । मियाले प्रतिनिधिसभा निर्वाचनमा विवेकशील साझाको राजनीति त्यागेर मियाले स्वतन्त्रतर्फ उम्मेदवारी दिने निर्णय गरेका हुन् । यद्यपि उनले पनि औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष