NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गाली र अश्लील हर्कतमा चर्चित नाम नै बदनाम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गालीगलौज र हातपात गरेको अडियो सार्वजनिक भएपछि उनी फेरि विवादमा तानिएका छन् ।

अध्यक्ष अधिकारीलाई मन्त्री आलेले आफ्नै कार्यकक्षमा बोलाएर अश्लील गालीगलौज र हातपात गरेको अडियो सामाजिक सञ्जालमा भइरल भएपछि उनको सर्वत्र निन्दा र आलोचना भइरहेको छ ।

आफूले सिफारिस गरेको मान्छेलाई जागिर नलगाइएको झोंक फेर्न अधिकारीमाथि आक्रोशित हुँदै मन्त्री आले अश्लील शब्द प्रयोग गरी जाइलागेका थिए । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूले मन्त्रीको बोली अपाच्य र अश्लिल भएको भन्दै उनलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

एमालेका सांसद झपट रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ‘गाली शिरोमणि’ को उपाधिले विभूषित गर्नुपर्ने भन्दै व्यङ्ग्य गरे ।

‘सभ्य संस्कृतिको संरक्षण र नयाँ संस्कृतिको निर्माणको लागि संस्कृति तथा पर्यटन मन्त्रालय बनाएको हो । सामाजिक मूल्य र मान्यताको हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्तो गरिमामय पदमा बसेर कहिले सर्वसाधारण त कहिले आफ्नै मातहतका कर्मचारीमाथि असभ्य र अश्लिल गालीले समाजकै बेइज्जत भएको छ । यस्ता मन्त्रीलाई मन्त्रीको सट्टा गालीशिरोमणिले विभुषित गरियोस्’, सांसद रावलले भने ।
तर मन्त्री आलेले अध्यक्ष अधिकारीको व्यवहारले आफू उत्तेजित भएपनि उनीमाथि हातपात नगरेको जिकिर गरेका छन् ।

यसअघि गत फागुन ३ मा मन्त्री आलेको अश्लील अडियो सार्वजनिक भएको थियो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेकपा (एकीकृत समाजवादी) को कोटाबाट मन्त्री बनेका आलेले एक युवकलाई अश्लील गाली गरेको अडियोमा सुन्न सकिन्छ ।

अश्लील अडियो सार्वजनिक भएपछि त्यतिबेला आलेले भारतमा रहेका युवकले रातविरात सताएपछि आफू सम्हालिन नसकेको स्वीकारेका थिए । सार्वजनिक अडियो पुरानो भएको उनले दाबी गरेका थिए । अश्लिल गालीको बचाउका निम्ति उनले जेजस्तो तर्क गरे पनि सामाजिक सञ्जालमा उनको अमर्यादित हर्कतप्रति आक्रोस र आलोचना पोखिएका छन् ।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा वन, वातावरण तथा भू–संरक्षण मन्त्री छँदा ‘रूखले कार्वनडाइअक्साइड फ्याँक्ने’ उनको अभिव्यक्ति ‘ट्रोल’ बनेको थियो । केपी ओली नेतृत्वको सरकार ७ नम्बरको गियरमा कुदेको र यसलाई कसैले रोक्न नसक्ने अभिव्यक्ति पनि उत्तिकै हँसिमजाकको विषय बन्यो ।

ओली नेतृत्वको सरकारबाट अपमानजनक ढंगले बर्खास्तीमा परेपछि भने उनको राजनीतिक झुकावमा १८० डिग्रीको बद्लाव आयो । उनी रन्थनिँदै माधवकुमार नेपाल समूहको ओत लाग्न पुगे ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा कतिपय मन्त्री गुमनाम प्रायः हुँदा उनी भने कार्यसम्पादनका कारण निरन्तर चर्चामा छन् ।
नारायणहिटी दरबार संग्रहालय र पशुपति क्षेत्रमा रहेको धर्मशालाबाट बतास समूहलाई हटाएपछि उनको वाहवाही भइरहेको छ । ‘रिजल्ट ओरिएन्टेड’ छवि बनिरहेकै बेला मुखमा लगाम नलगाउँदा उनको चुलिँदो उचाइमा त क्षति पुगेको छ नै आगामी दिनमा समेत कलंकको यो टीको सिउरिराख्नुपर्ने भारी आइलागेको छ ।

राजनीतिक दलका नेता र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई समाजमा आदर्शका रूपमा हेरिन्छ । तिनका विचार, जीवनशैली, आचरण, बोली–व्यवहारलाई आममानिसले पछ्याउने भएकाले यो अपेक्षित छ । तर समाजले आदर्श मानेका व्यक्तिहरू आफ्नै बोलीका कारण छताछुल्ल हुने गरेका छन् । डिजिटल युगमा यस्ता पात्रको अझै धेरै पटाक्षेप हुन थालेको छ । प्रेमबहादुर आले यसका एउटा उदाहरण मात्रै हुन् ।

रामकुमारी झाँक्री, मन्त्री, शहरी विकास

शहरी विकास मन्त्री रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेत्री हुन् । उनी हक्की, निडर र स्वाभिमानी नेत्रीका रूपमा चिनिन्छिन् । युवामाझ निकै लोकप्रिय झाँक्रीमा विद्यार्थीकालीन उत्तेजनाको धङधङी यति छ कि उनी अहिले पनि भौतिक आक्रमण गर्ने धम्की दिन पुग्छिन् । बोलीमा लगाम लगाउन नसक्दा ०७४ को निर्वाचनमा उनी निकै आलोचित बन्न पुगिन् ।

जब कुनै नेताको अश्लील र अमर्यादित हर्कत सार्वजनिक हुन्छ, तब झाँक्रीको चार वर्ष पुरानो अडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले उत्खनन गर्न भ्याइहाल्छन् । ०७४ मा सार्वजनिक उक्त अडियोमा झाँक्रीले एक शिक्षकलाई फोनबाट अश्लील गाली तथा भौतिक आक्रमणको धम्की दिएको सुन्न सकिन्छ ।

अडियोमा आफूलाई कांग्रेस समर्थक बताउने शिक्षक धैर्यशील देखिए पनि झाँक्रीचाहिँ निकै उत्तेजित देखिन्छन् । यो क्रममा उनले कैयन् पटक अश्लील र अमर्यादित शब्द प्रयोग गर्छिन् ।

यो अडियो संवादले झाँक्रीको लोकतान्त्रिक प्रतिबद्धताप्रति नै प्रश्न उज्याए पनि उनले अहिलेसम्म यसबारे क्षमा माग्न आवश्यक ठानेकी छैनन् । न त उनको सचिवालयले नै खण्डन गर्न जरुरी देखेको छ ।

रामकुमारी कतै असहिष्णु, अमर्यादित त कतै उग्र देखिन्छिन् । यही स्वभावका कारण उनी सार्वजनिक पद धारण गरेको व्यक्तिको चरित्र हत्या गर्न पुग्छिन् । करिब एक वर्षअघि गोरखामा भाषण गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा सर्न सुझाव दिइन् ।

मासले ताली त बजायो तर यही अभिव्यक्तिले उनको चर्को आलोचना भयो । एमालेनिकट महिला संघ त उनीमाथि कारबाही गर्नुपर्ने माग लिएर प्रधानमन्त्रीनिवास बालुवाटार नै पुगेको थियो । अन्ततः हठी स्वभावकी झाँक्रीले आफ्नो अभिव्यक्ति दुई जनाको सम्बन्धतिर लक्षित नभएको भन्दै माफी माग्नु पर्यो ।

त्यसो त नानीदेखि लागेको बानी भएकाले होला अभिव्यक्तिका कारण आलोचित हुने श्रृंखला मन्त्री हुँदा पनि यथावत् छ । केही समयअघि आफूमातहतका इञ्जिनियरको क्षमतामाथि प्रश्न उठाउँदै उनले सडकको ढलको बिर्को मिलाउनसम्म नसक्ने टिप्पणी गरिन् । जसको कर्मचारी वृत्तबाट चर्को आलोचना भयो ।

पिर्के सलामी लिएको विषयले पनि उनी उत्तिकै आलोचित छन् । गणतन्त्रविरुद्ध लडेकी, सामन्तवादी व्यवस्थाकी विरोधी झाँक्रीको यस्तो रवैयामाथि लोकले प्रश्न उठाउनु स्वभाविक थियो । तर उदेकको कुरा, ‘सलामी खान्छु, घुस खान्नँ’ भनेर उनी उल्टै आफ्ना शुभेच्छुकप्रति जाइलागिन् ।

गोकुल बाँस्कोटा , पूर्वसञ्चार मन्त्री

ओली नेतृत्वको सरकारमा कुनै बेला शक्तिशाली मन्त्री थिए, गोकुल बाँस्कोटा । तत्कालीन सूचना तथा सञ्चारमन्त्री बाँस्कोटा आफ्नो रुखो स्वभाव र विपक्षीमाथि कडा प्रहारका कारण सधैं चर्चा र विवादको घेरामा पर्ने गरेका छन् । एमाले अध्यक्ष ओलीका विश्वासिला पात्र रहेका उनी काभ्रेका निर्वाचित सांसदसमेत हुन् ।

सञ्चारमन्त्री रहेकै अवस्थामा ०७६ फागुनमा एक स्विस कम्पनीका नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी निकै आलोचित भएका थिए ।

उनले डिलका क्रममा कर्मचारीप्रति लक्षित गरी बोलेको अश्लील शब्द ‘मु’ त्यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
बाँस्कोटा र स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश शर्माबीचको करिब २ मिनेट ३० सेकेन्डको अडियो रेकर्ड सार्वजनिकपछि उनले नैतिकताको कारण दर्शाउँदै पदबाट राजीनामा दिएका थिए । उक्त ७० करोड घुस बार्गेनिङ प्रकरण छानबिनको क्रममा रहेको बताइन्छ । तथापि, अहिलेसम्म त्यसले गति लिन सकेको छैन ।

सत्यनारायण मण्डल – रामकृष्ण यादव

दुई वर्षअघि टेलिभिजन बहस कार्यक्रममा अतिथिको रूपमा निम्त्यिाइएका थिए–पूर्वमन्त्री एवं एमाले मधेस प्रदेशका सांसद सत्यनारायण मण्डल र कांग्रेस नेता रामकृष्ण यादव । अतिथि थिए, बहुचर्चित पत्रकार ऋषि धमला ।

सुरुमा दुईबीचको अन्तरवार्ता घोचपूर्ण भए पनि शान्त नै थियो । तर कार्यक्रमलाई जति अमर्यादित बनायो उति मजा मान्ने ऋषि धमलाले दुवैलाई उकास्न उकेरा हालिहाले । अनि त के चाहियो, टेलिभिजन स्किन मै मदिरालय बिर्साउने दृष्य पटाक्षेप भयो ।

एक–अर्कालाई चोर, डाँका, फटाहा, बलात्कारीजस्ता आरोप लगाएर पाखुरा सुर्कासुकी गर्न थालेपछि चतुर धमलाले लाइभ कार्यक्रम त्यही टुंग्याए ।

सप्तरीका पुराना कम्युनिस्ट नेता मण्डल एमालेको पूर्वस्थायी कमिटी सदस्य हुन् । त्यसो त उनी अहिले सक्रिय राजनीतिमा छैनन् । उमेर हदका कारण दशौं महाधिवेशनबाट बिदा लिएर अवकाश जीवन व्यतीत गर्दैछन् ।

मोहनबहादुर बस्नेत–केशव बडाल

ऋषि धमलाकै प्राइम टाइम टेलिभिजन । कार्यक्रम पनि उही । अतिथि भने फरक । एमालेबाट थिए, केशव बडाल अनि कांग्रेसबाट मोहनबहादुर बस्नेत ।

दुई अतिथि टेलिभिजन सेटमा अतिथिका निम्ति निम्त्याइनुको कारण थियो, संसद् विघटनबारे मन्थन गराउनु । तर दुर्भाग्य वैचारिक मन्थन कम र आरोप–प्रत्यारोप बढी भइदियो । कार्यक्रमको बीचमा मोहन बस्नेत बोलिरहँदा तत्कालिन प्रधानमन्त्री ओलीको बचाउ गर्दै बडालले फटाह कुरा गर्ने भन्दै बस्नेतको अभिव्यक्तिमा असहमति दर्ज गरिदिए । झोकी स्वभावका बस्नेत जाइलागिहाले, तँ‘तँ‘ कम्युनिस्ट साला । बडालमाथि लगातार हावी बस्नेतले सा‘फटाहा, देश द्रोही, चुप लागसम्म भन्न भ्याए ।

उनै ऋषि धमलासँगको संवादका क्रममा बडालले एक पटक कांग्रेस नेता मीनबहादुर विश्वकर्मालाई तनाथाम गरेका थिए । रमाइलो पक्ष के भने उनै बडाल बस्नेतले जाइलाग्दा भने निरीह देखिएका थिए । सामाजिक सञ्जालमा कतिपयले त्यो घटना पनि सम्झिएका थिए ।
समाजका लब्धप्रतिष्ठित व्यक्तित्व, राजनीतिज्ञ, कलाकार, विषय विषेशज्ञ हासिल गरेका व्यक्तित्व, खेलाडी तथा सार्वजनिक ओदाहमा बसेका व्यक्तिहरूलाई रोल मोडलको रूपमा हेरिन्छ ।

उनीहरूका विचार, जीवन शैली तथा हरेक गतिविधि आम मानिसका लागि प्रेरणाको स्रोत हुने गर्छन् । आदर्श मानिएका यस्ता व्यक्तिहरूको आचरण, जीवनशैली, संस्कार र गतिविधिहरू समाजका ऐनाको रूपमा प्रतिविम्बित हुने गर्छन् । तर नेपालमा पछिल्लो समय आफ्ना बोली र व्यवहारलाई संयमतापूर्वक लगाम लगाउन नसक्दा समाजले आदर्श मानिएका यी नै पात्रहरू बदनाम बन्दै गएका छन् । यसले जनस्तरमा उत्तिकै निराशा व्याप्त छ ।

दोस्रो तहका नेता मात्रै होइन, शीर्ष नेता पनि विपक्षीमाथि जाइलाग्न उत्तिकै माहिर छन् । सहकार्य हुँदासम्म प्रशांसा गर्ने नेता जब त्यो टुट्छ अनि गालीगलौजमा उत्रिहाल्छन् । तत्कालीन नेकपालाई अदालतले अलग गरिदिएपछि छुटीभिन्न भएका तिनका नेताले एक अर्कामाथि लामो समयसम्म आरोप–प्रत्यारोप गरिरहे । जुन सिलसिला अहिले पनि जारी छ ।

धर्म, संस्कृति, परम्परा, समानता, समावेशीकरणजस्ता विषयको गम्भीरताबोध नगरी अभिव्यक्ति दिन पनि राजनीतिक दलका नेता उत्तिकै माहिर छन् ।

महिला, अपांग, दलितलगायत समुदायको मत ल्याएर संसद् टेकेका नेता तिनैको हुर्मत लिनसमेत पछि पदैनन् । केहीअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले अपांगद्वेषी आहान प्रयोग गरेपछि निकै आलोचना भयो । पछि यी दुवै नेताले त्यो समुदायको चित्त दुखाउने आफ्नो चाहना नरहेको भन्दै त्यसलाई सच्याए ।

कतिपय नेताले त चौतर्फी आलोचनाको बावजुद आफ्नो अभिव्यक्ति करेक्सनको आवश्यकता देख्दैनन् । यो सूचीको अग्रपंक्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेका बेला बढ्दो सवारी दुर्घटनाप्रति टिप्पणी गर्दै उनले भनेका थिए–सरकार नै अलच्छिना छ । गठन भएदेखि नै गाडी पल्टिएर जनता मरेको मरै छन् ।’

अन्धविश्वासको सहारा लिएर कम्युनिस्ट नेताले गरेको भाषणको निकै आलोचना भयो । तर उनले त्यसलाई सच्याउन आवश्यक ठानेनन् ।
‘समाज र पुँजीवादी व्यवस्थाको उपज’

समाजका आदर्श मानिएका व्यक्तिहरू विवादमा आउनु वा विवादित बन्नुको पछाडि व्यक्तिको विचार नभएर समाज र अहिलेको पुँजीवादी व्यवस्था दोषी देख्छन्, समाजशास्त्री – मानवशास्त्रीहरू ।

‘राजनीतिज्ञहरूले समाजका मूल्य, मान्यता, दर्शन, संस्कार र संकृति भुल्दै गए,’ वरिष्ठ समाजशास्त्री डा. ओम गुरुङ भन्छन्, ‘नेताहरूमा संस्कृतिको विकास नै भएन । शक्ति र सत्ताको आडमा आफूले जे गरेपनि हुन्छ भन्ने अराजक मानसिकता विकास भयो । यी सबै आधुनिकता, सभ्यता र विकासका नाममा भएका पुँजीवादी विकृतिहरू हुन् ।’

गुरुङको बुझाइमा नेपाली समाजको मनोविज्ञान र अहिलेको राज्य व्यवस्थाले मानिसहरू विस्तारै संकिर्ण हुँदै गएका छन् । दण्डहीनता पनि मौलाइरहेको छ ।

आफूबाहेक अन्यका विचार राम्रो नलाग्ने जुन प्रवृत्ति छ, त्यसलाई पनि उनी यो अवस्थाको उपज ठान्छन् ।
‘नेताहरूमा शक्तिले पूर्वाग्रही मनस्थिति बोक्ने, तिक्तता बोक्ने, ठूला–ठूला अपाच्य शब्द बोलेमा ठूलो भइन्छ भन्ने भ्रम छ । जुन सभ्य समाजमा कसैले पनि बोल्न मिल्दैन,’ गुरुङ भन्छन् ।

यस्ता गतिविधिले समाजलाई विकृति, विसंगति र अराजकतातिर धकेल्ने गुरुङको बुझाइ छ ।

समाजका आदर्श मानिएका व्यक्तिहरूबाट नै अरुले सिक्ने र अनुशरण गर्ने भएकाले यस्ता व्यक्तिहरूमा नैतिकता, संस्कार, संस्कृति, मूल्य–मान्यता अनिवार्य सर्त रहेको गुरुङ बताउँछन् ।

‘आफूमाथि कसैले असहमति राख्न सक्छन् । त्यसलाई त्यही अनुसार आधार, तथ्यहरूबाट सभ्य र शालीन ढंगले प्रतिवाद गर्न सकिन्छ । नेपाली समाजमा संस्कार हरायो, सत्ता र शक्तिको दम्भ बढ्दै गयो । कसैलाई कानूनी कारबाही हुँदैन । समाजमा खुलेआम दादागिरी चल्छ । ठूलो–ठूलो स्वरमा बोल्न सकिए ठूला मानिस कहलिन्छ भन्ने सोच हाबी हुँदै गयो । यस्ता गतिविधिले मानिसमा अहंकार बढाउँछ । विस्तारै आफू पनि सिद्धिन्छ र समाजलाई पनि ध्वस्त बनाउँदै लैजान्छ’, डा. गुरुङ भन्छन् ।

गुरुङका अनुसार, समाजमा अहिले जुन खालको विकृतिहरू फैलिँदै गएको छ, त्यसलाई प्रश्रय अहिलेको व्यवस्थाले दिएको हो । यस्तो ट्रेण्ड नरोकिए भोलिको नेपाली समाज मात्रै नभइ विश्व समाजमा नै अराजकता, हत्या, हिंसा, आतंक र अराजकता बढ्ने खतरा उनले औंल्याए ।