NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

काठमाडौंका बस स्टपहरुमा फल्चा बनाउने, बागदरबार ‘रेट्रोफिट’ हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्ने बताएका छन् ।

साथै महानगरपालिकाले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । मेयर शाहले हरिभवन (बागदरबार) को प्रवलीकरणको लागि आवश्यक व्यवस्था गर्ने बताएका छन् ।

पूर्वमेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काउने अडान लिएका थिए तर शाहले ऐतिहासिक पुरातात्विक महत्वको बागदरबारलाई प्रवलीकरण गर्ने नीति ल्याएका हुन् ।

साथै, काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने, प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने नीति अघि सारिएको छ ।

महानगरपालिकाले कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने, कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने भएको छ ।