NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वैकल्पिक शक्ति : बाबुराम फोरममा विलय, विवेकशील तितरवितर

काठमाडौं । निकट विगतमा वैकल्पिक शक्ति बनाउने प्रयासमा लागेका राजनीतिक दलमाथि धक्का लागेको छ । केही तितरवितर नै भइसकेका छन् भने कुनै अस्तित्व रक्षाको अन्तिम प्रयासमा छन् ।

बाबुरामको नयाँ शक्ति एक वर्षमै फोरमसँग एकीकृत

०७० को अन्त्यतिर नयाँ वैकल्पिक शक्तिको बहस प्रारम्भ गरेका डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा ३० जेठ ०७३ मा तामझामसहित नयाँ शक्ति पार्टी घोषणा गरे । ०७४ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमसँगको गठबन्धन गरे । त्यसलगत्तै नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरमसँग एकीकृत भयो । डा. भट्टराईबाहेक अरू कसैले मंसिर ०७४ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ जित्न सकेनन् । ०७६ मा फोरम र तत्कालीन राजपाबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी बन्यो, जसपा पनि फुट्यो । भट्टराई अहिले जसपाभित्रै पार्टी फुटाएर जाने कि मौजुदा पार्टीलाई नै रूपान्तरित गर्ने उत्कर्षको अन्तर्संघर्षमा छन् ।

फुट–विभाजनसँगै मिश्रको साझा पार्टी तितरबितर

०७३ फागुनमा पत्रकारिता छोडेर रवीन्द्र मिश्र राजनीतिमा होमिए । ०७४ वैशाखमा सम्पन्न स्थानीय चुनावमा उनको साझा पार्टीले काठमाडौं र ललितपुरमा उम्मेदवार उठायो । दुई दल मिल्दा अबको चुनाव जित्न सकिने विश्लेषणसहित मिश्रले विवेकशीलसँग एकताको हात अघि बढाए । ११ साउन ०७४ मा पार्टी एकता भई विवेकशील साझा पार्टी बन्यो जहाँ मिश्र र थापा दुवै संयोजक रहे । मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकताको १७ महिनापछि उज्ज्वल थापासहित १६ केन्द्रीय सदस्यले २७ पुस ०७५ मा विवेकशील नेपाली दल ब्युँताए । मिश्र नेतृत्वको दल छिन्नभिन्न भयो । योे स्थानीय निर्वाचनसम्म पुग्दा मिश्र नेतृत्वको पार्टी अस्तित्व रक्षाको स्थितिमा छ ।

विवेकशील पनि अस्तित्व रक्षामा

विवेकशील समूहले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंका चार क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाएको थियो । त्यसपछि भने ०७१ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो । ०७४ को स्थानीय निर्वाचनमा रञ्जु दर्शनालाई काठमाडौंको मेयरको प्रतिस्पर्धी बनाएपछि यो दल धेरै चर्चामा आयो । ११ साउन ०७४ मा मिश्र नेतृत्वको साझा पार्टीसँग थापाले नेतृत्व गरेको दल एकीकृत भयो । तर, १६ महिनापछि थापा पार्टीको आन्तरिक विवादपछि दल फुटेर उनी पुनः विवेकशीलका नेता बने । गएको स्थानीय तहको निर्वाचनमा विवेकशील दलले कतै पनि उल्लेख्य नतिजा ल्याउन सकेन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष