NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इजरायलको संसद् भंग, तीन वर्षमा पाँचौंंपटक निर्वाचन घोषणा

काठमाडौं (एजेन्सी) । इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भंग गरेको छ । साथै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ ।

अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौं हुनेछ ।

प्रधानमन्त्री नफ्ताली बेनेटले सोमबार पदभार ग्रहण गरेको एक वर्षपछि वैचारिक विविधतायुक्त आठ राजनीतिक दलको गठबन्धन तोडेर अर्को निर्वाचनको घोषणा भएको हो । येश एडिट पार्टीका नेता तथा समाजकल्याणमन्त्री मीर कोहेनले गठबन्धन सरकारले बुधबार मतदानसम्बन्धी विधेयक संसद्मा प्रस्तुत हुने बताएका छन् ।

अब अर्को निवाचन आगामी अक्टोबरमा हुनेछ । नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री बेनेटका प्रमुख सहयोगी विदेशमन्त्री यायर ल्यापिड कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री बेनेट नेतृत्वको गठबन्धनलाई त्यति बेला नै राजनीतिक प्रयोगका रूपमा चित्रण गरिएको थियो ।

प्रधानमन्त्री बेनेटले आफ्नो कार्यकालमा तीन वर्षमा पहिलोपटक राष्ट्रिय बजेट पास गराए भने बन्दाबन्दी नगरी कोरोनाभाइरसका दुई चरणबाट देशलाई नेतृत्व प्रदान गरे । उनकै निगरानीमा गाजा पट्टीसँगको तनावपूर्ण सीमाना धेरै हदसम्म शान्त रह्यो । यद्यपि प्यालेस्टिनीहरूसँगको तनाव पूर्वी जेरुसेलम र कब्जा गरिएको वेस्ट बैंकमा बढ्यो ।