NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उद्धार र राहतका लागि पैसा छैन, हामीलाई सहयोग गर्नुस् : तालिवान

काठमाडौं । अमेरिका समर्थित सरकारलाई दुई दशकपछि ढालेर सत्तामा फर्किएका अफगानिस्तानका तालिवानीले भूकम्पपीडित सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेका छन् ।

बुधबार गएको ६.१ रेक्टर स्केलको विनाशकारी भूकम्पले देशमा जनधनको ठूलो क्षति पु¥याएपछि तालिवान सरकारले विश्व समुदायसँग सहयोग मागेको हो ।

तालिवानका वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले अफगानिस्तान मानवीय र आर्थिक संकटको चपेटामा परेको उल्लेख गर्दै जनतालाई सहयोग गर्न सरकारको आर्थिक हैसियत नरहेको बताएका छन् ।

‘अफगानिस्तान मानवीय र आर्थिक संकटको मारमा परेको छ,’ उनले भने, ‘आर्थिक रूपमा जनतालाई आवश्यकताअनुसार सहयोग गर्न सरकार असमर्थ छ ।’

सहायता नियोग, छिमेकी मुलुक र विश्व शक्तिहरूले सहयोग गरिरहे पनि भूकम्पले ठूलो विनाश गरेकाले योभन्दा ठूलो स्केलमा अफगानिस्तानलाई सहयोग चाहिएको उनले बताए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अफगानिस्तानको विपद्मा सहायता गर्न सहयोगी एजेन्सी पूर्ण रूपमा परिचालन भएको जनाएका छन् ।

राष्ट्र संघका अनुसार स्वास्थ्य टोली, स्वास्थ्य सामग्री, खाद्यान्न आपत्कालीन आश्रयस्थल भूकम्पग्रस्त स्थानमा पुर्याइएको छ ।

दक्षिणपूर्व क्षेत्र केन्द्रबिन्दु् भएर अफगानिस्तानमा बुधबार गएको भूकम्पबाट एक हजारभन्दा बढी मानिसको ज्यान गएको छ । कम्तीमा १ हजार ५०० जना घाइते छन् ।
खासगरी माटोले बनेका घर ध्वस्त भएका छन् । यी घरका भग्नावशेषमा मानिस पुरिएका भए पनि संख्याबारे यकिन भएको छैन ।

अफगानिस्तानमा अहिले वर्षा भइरहेको छ । यसले उद्धार तथा राहत कार्य प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पले कतिपय स्थानमा सडक नै बिग्रिएको छ भने टावरमा क्षति पुग्दा टेलिफोन सेवा प्रभावित भएका छन् ।