NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

संरक्षणको पर्खाइमा ऐतिहासिक पुल, बर्सेनि बजेट फ्रिज

तनहुँ । तनहुँको भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन ।

दिनप्रतिदिन पुल जीर्ण बन्दै गएको छ । मानिस हिँड्न प्रयोग गरिएका काठका फल्याक कुहिएर झर्न थालेपछि खाली हुँदै गएका छन् । दुई स्थानीय तह भीमाद नगरपालिका-७ र म्यादे गाउँपालिका-५ जोड्ने यो पुलको लम्बाइ करिब १६ मिटर लामो छ ।

राजा सुरेन्द्र विक्रमशाहले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा उल्लेख छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले ७०० रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए ।

त्यही गुठीबाट उक्त झोलुङ्गे पुल निर्माण गरेको तथ्य फेला परेको छ । पुल निर्माणका लागि जिल्लाकै साविक ढोरफिर्दी हाल भीमाद नगरपालिकास्थित मिनाम खानीबाट फलाम उत्खनन गरी काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको बताइन्छ ।

पुलमा जडान गरिएका सम्पूर्ण धातु कुनै पनि मेसिन तथा कलकारखानाबाट उत्पादन तथा प्रशोधन नगरी हातको सिप प्रयोग गरिएको देखिन्छ । स्थानीय खानीको फलाम प्रयोग गरी साङ्लाको झोलुङ्गे पुल बनाइएको हुनाले यसको ऐतिहासिक महत्व रहेको छ । अर्कोतर्फ स्थानीय कालीगढले नै पुल निर्माण गरेकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोकेको छ ।

भीमाद नगरपालिका र गण्डकी प्रदेश सरकारले पुल संरक्षण तथा पुनःनिर्माण शीर्षकमा हरेक वर्ष आलोपालो बजेटको व्यवस्था गर्दै आएको छ । यस पुलसँग सम्बन्धित विज्ञ नभेटिँदा विनियोजित बजेट नै फ्रिज भएर गइरहेको छ ।

पुलको संरक्षण र मर्मत शीर्षकमा गण्डकी प्रदेश र भीमाद नगरपालिकाले पटकपटक गरी हालसम्म ९२ लाख बजेट विनियोजन गरिसकेको भीमाद नगरपालिका कार्यालयले जनाएको छ ।

भीमाद नगरपालिकाले आव २०७५/७६ मा ६० लाख, आव २०७६/७७ मा १२ लाख, आव २०७७/०७८ मा २० लाख विनियोजनसहित कूल ९२ लाख बजेट विनियोजन भइसकेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिइन् ।

बजेट विनियोजन भए पनि जनशक्ति अभावका कारण निर्माण कार्य हुन नसकेको उनले बताइन् । विसं २०७४ को निर्वाचनपश्चात् जनप्रतिनिधि आएदेखि नै बजेट विनियोजन हुँदै आए पनि काम हुन नसक्दा रकम फ्रिज भएर जाने समस्या रहेको छ ।

पुलका लागि भनेर छुट्याएको बजेटबाट काम गर्न नसकेपछि त्यसै फ्रिज भएर गइरहेको छ । पुल संरक्षणका लागि हालसम्म नगरपालिकाले विनियोजन गरेको रकममध्येबाट १० लाखको लागतमा स्वागत गेट बनाउनुबाहेक पुलकै लागि भनेर अन्य रकम खर्च भएको छैन ।

नगरपालिकाले प्रदेश सरकारसँग डिपिआर तयार गरी पुल संरक्षणको प्रयास गरे पनि बजेट माग गर्दा बजेट नपरेको उनले बताइन् ।