NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आफूमाथि कुप्रचार गरेकोमा निवर्तमान श्रममन्त्री श्रेष्ठको आपत्ति

काठमाडौं । निवर्तमान श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठले आफूमाथि कुप्रचार गरेको भन्दै आपत्ति जनाएका छन्  ।

सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी विदाइ भएका श्रेष्ठले मिडियामार्फत आफूहरूबारे कुप्रचार गरेको भन्दै उनले चित्त दुःखाए । आफू पार्टीकै सिफारिसमा प्रधानमन्त्रीले मन्त्री नियुक्त भएको र पार्टीकै सिफारिसमा आफू स्वतः पदमुक्त भएको बताए ।

‘पार्टीको सिफारिसमा प्रधानमन्त्रीले मलाई मन्त्रीमा नियुक्त गरेका हुन् । पार्टीकै सिफारिसमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि म निवर्तमान भइसकें’, उनले भने, ‘स्वभाविक प्रक्रियालाई मिडियामा उचालेर पदमा टिकिराख्न बालुवटार पुगेर दबाब दिएको आरोप लाग्यो । हाम्रो चाहना भनेको संसदीय प्रणालीमा हामीले बजेट पेश गरेपछि सम्बन्धित सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन पाउँ भन्नेमात्र हाम्रो हो ।’

पार्टी छोड्छ रे । मन्त्री पद छोड्दैन रे । प्रधानमन्त्रीलाई दबाब दियो रे भन्ने बाहिर धेरे हल्ला भएको भन्दै उनले आफूबाट त्यस्तो केही नगरेको र मन्त्री पद आफूलाई ठूलो नभएको बताए ।

‘मन्त्रीले चढ्ने भन्दा ठूलो गाडि चढेर आएको छु । मलाई मन्त्री पद केही होइन । अहिले गुमेपछि फेरी आउन सक्छ’, सचिवतिर हेर्दै उनले भने, ‘अब आउने मन्त्रीलाई उहाँलाई मलाई जस्तै सहयोग गर्नुहोला ।’

उनले पत्रकार सम्मेलन नगर्न भन्दासमेत सचिवले नमानेको जिकिर गरे ।