NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जाँदाजाँदै झाँक्रीले नवनियुक्त मन्त्रीलाई भनिन्, ‘मैले अघि बढाएका नीतिगत कामलाई निरन्तरता दिनुहोला’

काठमाडौं । निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई आफूले अघि बढाएका नीतिगत कामलाई निरन्तरता दिन आग्रह गरेकी छन् । आफूले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो ‘डिस्पास्चर’ हो भन्नेमा दुई मत नरहेको दाबी गर्दै उनले यसलाई निरन्तरता दिन आग्रह गरेकी हुन् ।

आइतबार मन्त्री पदबाट राजीनामा दिएसँगै आज उक्त पदमा चौधरी नियुक्त भइसकेका छन् ।

आइतबार मन्त्रालयले गरेको विदाइ कार्यक्रममा भक्कानिएकी झाँक्रीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले काठमाडौंको फोहोर व्यवस्थापनसम्बन्धी वातावरणमैत्री नीति तर्जुमा गरेकी थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई यो अवधिभर सहयोग गर्ने, आलोचना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । साथै नवनियुक्त मन्त्री चौधरीलाई शुभकामना दिएकी छिन् । यस्तो छ मन्त्री पदबाट विदा भएपछि झाँक्रीको फेसबुक स्टाटस :

मलाई शहरी विकासमन्त्रीको जिÞम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधवकुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, लगायतका नेताहरू, मन्त्री परिषदका मेरा सिनियर सहकर्मी मन्त्री दाइ–दिदीहरू, मुख्यसचिव, विभिन्न मन्त्रालय, विभिन्न आयोगका संगठनका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जंगी, प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, मेरो मन्त्रालयका सहसचिवहरू, मातहत निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरूप्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । खासगरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई शहरी भाषा बोल्न सिकाउनुभयो उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो जिम्मेवारीमा कहिल्यै सम्झौता नगर्ने अंगरक्षक, व्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाइ–बहिनीहरू सबैप्रति हार्दिक धन्यवाद !

मेरा सुभेच्छुक साथीहरू पत्रकार मित्रहरू विकास साझेदार संस्था र प्रतिनिधिहरू, निजी क्षेत्रका मेरा मार्गदर्शकहरू, मेरो पथप्रदर्शक मेरा श्रीमान्, मेरो परिवार र मेरो सानो छोरा जसको समय मैले सार्वजनिक जीवनमा लगाएँ सबैप्रति ऋणी छु । मलाई आलोचना गरेर मौका दिने मेरो पार्टीका विभिन्न जनसंगठनका नेता तथा “कार्यकर्ताहरू” प्रति हार्दिक हार्दिक धन्यवाद! सबै दल सम्बद्ध मेरा मित्रहरू तपाईँहरूलाई सधै सम्झिन्छु । मप्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिकहरूप्रति हार्दिक धन्यवाद ! म तपाईँहरूको आशालाई निराश हुन दिने छैन भन्ने संकल्प लिँदै अगाडि बढ्नेछु ।

यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिकाजस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरूसँग सार्वजनिक सरोकारका विषयहरूमा पटक–पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट विदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुईमत छैन ।

साथै नवनियुक्त मन्त्रीजीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु । साथै माननीय मन्त्री मेटमणि चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !