NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पेरिस हमलाका दोषीलाई अहिलेसम्म कै कडा सजाय

पेरिस । सन् २०१५ मा पेरिसमा आक्रमण गर्ने समूहका एक मात्र जीवित आक्रमणकारीलाई आतंकवाद र हत्याको दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको छ । सलाह अब्देस्लाम नाम गरेका ती आक्रमणकारीलाई फ्रान्सको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाइएको हो । यस आक्रमणमा १३० जनाको मृत्यु भएको थियो ।

सलाहलाई यो अपराधमा आजीवन कारावासको सजाय सुनाइएको हो । अदालतले यस मुद्दामा अन्य १९ जनालाई पनि दोषी ठहर गरेको छ । जसमध्ये ६ जना दोषीको मृत्यु भइसकेको बुझिएको छ । यो मुद्दाको सुनुवाइ आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्यो । सुनुवाइ गत वर्ष सेप्टेम्बरदेखि चलिरहेको थियो ।

विगत नौ महिनादेखि पीडित, पत्रकार र मृतकका आफन्तहरू मुद्दाको सुनुवाइ गर्न पेरिसको विशेष अदालतमा भेला हुने हुन्थे । यो आक्रमण दोस्रो विश्वयुद्ध पछि फ्रान्सको इतिहासमा सबैभन्दा भयानक मानिन्छ । नोभेम्बर १३, २०१५ मा बार, रेस्टुरेन्ट, राष्ट्रिय फुटबल रंगशाला र एक संगीत स्थललगायत फ्रान्सका विभिन्न स्थानहरूमा आक्रमणहरू भएका थिए । यस आक्रमणमा सयौं घाइते भएका छन् ।

यद्यपि, अब्देस्लामले पछि पीडितहरूसँग माफी मागे र अदालतसँग आफू हत्यारा नभएको र हत्याका लागि सजाय दिनु उचित नभएको बताएका थिए ।

अब्देस्लामले आक्रमणको रात आफ्नो आत्मघाती ज्याकेट विस्फोट नगराउने निर्णय गरेको दाबी गरेका थिए । तर पछि अदालतमा पेश गरिएका प्रमाणबाट ज्याकेटमा भएको खराबीको कारण विस्फोट नभएको पत्ता लागेको थियो ।

अब्देस्लाम अब आजीवन जेलमै बस्नुपर्नेछ । फ्रान्सको कानुनअनुसार अब उनीहरूले ३० वर्षको जेल सजाय काटिसकेपछि मात्रै प्यारोलको लागि आवेदन दिन सक्छन् ।

मुद्दाको सुरुमा, अब्देस्लामले आफूलाई इस्लामिक स्टेट चरमपन्थी समूहको ‘सिपाही’ भनेका थिए ।